भाद्र ३ गते, २०७६

होलीको महत्व र रौनक हराउँदै

बेझाड । गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।

गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन् ।

होली आउनु एक दुई दिन अगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ ।

गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् ।

पछिल्लो समय होली अर्थात् फागुपर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।

गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लागेको अनुभव रामपुरका पाकापुस्ताका प्रतिनिधि जयनारायण न्यौपाने बताउँछन् । उनले पहिले मनाइने र अहिले मनाइने होली अर्थात् फागु पूर्णिमा संस्कृतिमा धेरै भिन्नता रहेको बताए ।

“पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिन्थ्यो, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि क्यासेट, मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो”, उनले भने, “संस्कार, संस्कृति र पर्वको महत्व नै नबुझी जसरी मनाए पनि भयो, बढ्दो आधुनिकताका नाममा संस्कार, संस्कृति परिवर्तन हुनुहुँदैन, हाम्रा जमाना गए ।” युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलनले चिन्ता लागेको उनी बताउँछन् ।

होलीका अवसरमा पछिल्लो समय कालीगण्डकीबेँसीका विभिन्न वनभोजस्थल, खोला किनार, खुला चौर, चौतारीलगायतका स्थानमा वनभोज जाने र रमाउने चलन बढ्दो छ । यसले मौलिक संस्कृति परिवर्तन हुँदै गएको छ भने अर्कोतर्फ अर्काको देखासिकी र खर्चिलो बन्दै गएको रामपुरका स्थानीय समाजसेवी लेखनाथ शर्मा मरासिनी बताउँछन् । रासस

चैत्र ५ गते, २०७५ - ०९ः५३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg