बेझाड । रामपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन आयमूलक तालीमलाई जोड दिएको छ । विभिन्न सीपमूलक तालीम सञ्चालन गरेपछि यहाँका महिला स्वरोजगारतर्फ उन्मुख हुन थालेका छन् ।
सिलाइकटाइ, स्वीटर बुन्ने, अचार बनाउने, गुडिया बनाउने जस्ता तालीम सञ्चालन भएपछि यहाँका महिलालाई स्वरोजगारको ढोका खुलेको छ । सधैँ घरायसी कामधन्दामा मात्र सीमित रहेका यहाँका महिला गाउँमै सीपमूलक तालीम सिकेर स्वरोजगार बन्ने अवसर पाएपछि उत्सुकताका साथ सहभागिता जनाएका छन् । नगरपालिकाले यसै आर्थिक वर्षको बजेटमार्फत ९२ महिलालाई सीपमूलक तालीममा सहभागिता गराएको छ ।
नगरपालिकाले ४२ महिलालाई तीन महिने सिलाइकटाइ र ५० महिलालाई १२ दिने स्वीटर बुन्ने तालीम आयोजना गरेको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए । ‘महिलालाई आफ्नो सामान्य खर्च पनि श्रीमान्सँग मागेर चलाउने प्रवृत्तिको अन्त्य गराई आफैँ स्वरोजगार बनाउन सीपमूलक कार्यक्रममा नगरपालिकाले जोड दिइरहेको छ’ उनले भने । हिजोआज महिला पहिलेको तुलनामा केही सीप सिकेर आफ्नो खुट्टामा उभिन सक्ने क्रम रामपुरमा बढ्दै गरेको उनले बताए ।
दलित, विपन्न, जनजाति, एकल महिलालाई सीपमूलक तालीममा बढी जोड दिइएको छ । बिहान साँझ घरको कामधन्दा सकाएर दिउँसोको फुर्सदको समय सिलाइकटाइ तालीममा सहभागी भएको रामपुर नगरपालिका–५ मटेरी बस्ने सन्तोषी ढकालले बताए ।
“आफ्नो कमाइ नहुँदा कतिबेला कसले दिन्छ र गुजारा चलाउँला भन्नुपर्ने अवस्था थियो, अब यसरी अर्काको भरमा बाँच्नुभन्दा सीप सिक्यो भने घरमै बसेर पनि आफ्नो खर्च आफैँले चलाउन सकिन्छ” उनले भने । बिहान छोराछोरी स्कुल पठाएपछि दिनभरको समय तालीममा सदुपयोग भएको उनले बताए ।
त्यस्तै रमा भण्डारी पनि आफैँ स्वरोजगार बन्न अहिले स्वीटर बुन्ने तालीम लिइरहेकी छन् । उच्च शिक्षा अध्ययन गरेकी भण्डारी बिहान छोराछोरी बोर्डिङ स्कूल पठाएर दिउँसोको समय तालीममा आबद्ध छिन् । ‘श्रीमान् वैदेशिक रोजगारीमा, छोराछोरी पढाउनै पर्यो, घरायसी खर्च बढ्दै गयो, एक जनाको कमाइले परिवार धान्न समस्या, अर्कोतर्फ म पनि दिनभर घरमा खाली बस्नुभन्दा स्वीटर बुन्ने तालीम पाएपछि खुशी लागेको छ’ भण्डारीले भने ।
विमला थापा एक घण्टाको समय गाडीमा रामपुर बेझाडमा आएर अहिले स्वीटर बुन्ने सीप सिकिरहेकी छन् । उनले स्वीटर बुन्ने सीपलाई व्यावसायिकरूप दिने सोचका साथ तालीममा सहभागी भएको बताइन्। ‘दुई चार पैसाका निम्ति सधैँ अर्काको भर पर्नु भनेको अपाङ्ग बन्नु जस्तै हो, अपाङ्ग भएका केही व्यक्तिले कति रचनात्मक कार्य गरेर देखाएका छन् । हामी पनि केही गरेर आफैँ बाँच्न सिकौँ’, थापाले भनिन् ।
उनले तालीम पहिलेदेखि नै सिक्ने इच्छा राखेकी थिइन् तर, अन्यत्र गएर सीप सिक्ने घरबाट वातावरण नमिलेकोले अहिले रामपुरमै सिक्न पाउँदा खुशी छिन् । नगरपालिका क्षेत्रमा १०० को हाराहारीमा सिलाइकटाइ, ब्युटीपार्लर, गुडिया बनाउने, अचार बनाउने जस्ता तालीम लिएर महिलाले आफैँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।
अरुको कमाइमा बाँचिरहेका यहाँका महिला गाउँ गाउँमा नगरपालिकाले विभिन्न सीपमूलक तालीम दिन थालेपछि स्वावलम्बी बन्दै गएको पाइएको छ । केहीले व्यवसाय नै गरेर बसेका छन् भने केहीले आफ्नो गुजारा चलाउन सक्ने भएका छन् ।







