करीब चार हजार युवालाई रोजगार बनाइँदै इभेन्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करीब चार हजार युवालाई रोजगार बनाइँदै इभेन्ट


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष ३ हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए ।

उनले छोटो अवधिका ३ महीने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।

तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ ।

काठमाडौं उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिइने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएकाले सहभागी हुन सक्नेछन् ।

३ महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ । यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनले बताए ।

भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ । छोटो अवधिको तालीमको लागि इभेन्टले १८ हजार २२० हजार २०० र २२ हजार २०० उपलब्ध गराउँदै आएको छ ।

इभेन्टले यसवर्ष करीब १७ हजार बेरोजगार युवालाई रोजगार बनाउन छोटो अवधिको तालीम सञ्चालन गरेको छ । तालीमले मुलुकमा देखिएको बेरोजगारको समस्यालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने शाखा अधिकृत पौडेलले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस