नेपालगञ्जमा वातावरण सुधार अभियान « प्रशासन

नेपालगञ्जमा वातावरण सुधार अभियान


प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १३:५७

नेपालगञ्ज । नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ ।

यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान शुरु गरिएको छ । ‘आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरका रूपमा विकास गरिने अभियानको उद्देश्य छ’, उपमहानगर प्रमुख डा.धवलशम्शेर राणा भन्छन्,’सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।’

नेपालगञ्जलाई हरियालीयुक्त शहर बनाउन उपमहानगरपालिकासँग थुप्रै चुनौती पनि छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचे जस्तो परिणाम दिनसक्ला जस्तो देखिँदैन । ‘हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ’, नगर प्रमुख राणाको कथन छ ।

अभियानको शुरुआती चरणमा नेपालगञ्ज, सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । त्यस कार्यमा नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रप लगायतका संस्थाले सघाउँदै आएका छन् ।

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँ जस्ता कारण नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको छ । जसका कारण नेपालगञ्जमा अत्याधिक गर्मी बढ्दै गएको अनुभूति गरिएको छ । ‘यिनै कुरालाई दृष्टिगत गरी नेपालगञ्जको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य संघले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ’, संघका अध्यक्ष नन्दलाल वैश्य बताउछन् ।

उपमहानगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका साथ नगरपालिकाले पालना गराएको भने पाइँदैन । उपमहानगर प्रमुख राणा भन्छन्, ‘यसको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दैन, उसलाई उपमहानगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।

हरियाली अभियानका साथसाथै नेपालगञ्जमा ध्वनि निषेध गर्ने नीति पनि उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारी साधनमा हर्न बजाउन निषेध गरिएको छ भने मन्दिर र मस्जिदमा प्रसारण गरिने लाउडस्पिरको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रसाशन कार्यालयले रोक लगाएको छ । यो निर्णयलाई सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ । त्यसको पूर्ण पालना पनि भएको छ ।

‘हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रूपमा लिएका छौ’, उपमहानगर प्रमुख राणाको भनाइ छ, ‘यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्ज उद्योग वाणिज्य संघ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।’

प्रतिक्रिया दिनुहोस