राष्ट्रको समृद्धिको लागी वीरगञ्जवासीले बाले लाखौँ दियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रको समृद्धिको लागी वीरगञ्जवासीले बाले लाखौँ दियो


२२ फाल्गुन २०७५, बुधबार


वीरगंज । नेपालको लागि वीरगञ्जमा पहिलो पटक भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलबार एकै साथ लाखौं दियो बालिएको छ । महायज्ञ समाप्तीको पर्व सन्ध्या अर्थात तेस्रो दिन राति साढे ७ बजे यज्ञस्थल तथा नेपाल भारतका घरघरमा ‘दिप महायज्ञ’ स्वरुप दिप प्रज्वलन गरी लाखौं श्रद्धालु भक्तजन तथा साधकहरुले दिप प्रज्वलन गरेको महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा. उपेन्द्र महतोले बताए । उनले पूर्व सूचना अनुसार प्रति व्यक्तिले ५/५ वटा दिप बाल्ने कार्यक्रम अनुरुप लाखौं दिप बाल्ने कार्यक्रम सम्पन्न भएको बताए ।

मूल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समितिले मात्र २४ हजारदियोको व्यवस्था गरेको र बाँकी हरेक सहभागीले ५ वटा दियो लिएर आएको हुनाले महायज्ञमा मात्रै १ लाख भन्दा बढी दियो बलेको बताएका छन् । साथै, उनले पर्सा, बारासँगै नेपालको अन्य ठाउँमा दियो बाल्ने कार्यक्रम बारे पनि जानकारी गराइएकाले घरघरमा नेपाल–भारतमा लाखौं दियो बलेको हुन सक्ने दाबी गरे । उनले शुरुमा २ करोड रुपैयाको खर्च अनुमान गरिए तापनि श्रद्धालु भक्तजनको सँख्या तथा खर्चमा पनि वृद्धि हुन सक्ने अनुमान गरेका छन् । चार दिनमा ५ लाख सहभागी आउने अपेक्षा गरिए तपनि खराब मौसमको कारण भारतको थुप्रै ठाउँबाट सहभागी आउन नसकेको तर पनि तीन दिनमा करिब २ लाख भक्तजन सहभागी भइसकेको उनले जानकारी दिए ।

दिप प्रज्वलनका पूर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्येका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्यले कथा प्रवचन गरेका थिए । उनले आफनो प्रवचनमा दिप भनेको प्रकाशको प्रतीक भएकोले जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न दियो बालेर आफनो जीवनको अन्धकार हटाई प्रकाशमय जीवनको कामनाको लागि हिन्दू धर्ममा दियो बाल्ने चलन रहेको प्रकाश पारेका थिए । सामूहिक दिप महायज्ञले सबैको कल्याण, राष्ट्रमा समृद्धि तथा दीर्घ जीवनको लागि महामृत्युन्जय मन्त्रको वाचन पनि गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस