देशभरको मौसम बदली, सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशभरको मौसम बदली, सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशभर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ ।

पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात पनि भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ । शुक्रबारबाट मौसममा क्रमिक सुधार आउने मौसमविदले बताएका छन ।

यसैबीच सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः हिमपात शुरु भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो ।

जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ । पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने असर पार्ने किसानहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस