देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । सरकारी डाक्टरहरुले देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा आजदेखि बन्द गरेका छन् । कर्मचारी समायोजन विधेयकको विरोधमा सरकारी चिकित्सकहरुले अस्पतालका सबै सेवा बहिस्कार गरेका हुन् । आन्दोलनरत चिकित्सकहरुका कारण बिरामीहरुलाई पिडा थपिएको छ ।

काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । यसअघि उनीहरुले धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग सम्बोधन गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएर पनि कुनै रिस्पोनस नआएकाले पूर्वघोषित कार्यक्रम अनुसार, सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य भएको बताए ।

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।

देशभर करिब १४ सय सरकारी डाक्टर छन् । उनीहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस