संसदीय अभ्यासका विषयमा छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदीय अभ्यासका विषयमा छलफल


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


खस्यौली । गण्डकी प्रदेशको प्रदेशसभा र प्रदेश नं ५ को प्रदेशसभाबीच संसदीय अभ्यासका विषयमा आज छलफल भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, प्रदेशका विभिन्न समितिका सभापति लगायतलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले स्वागत गरे ।

सो अवसरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सहअस्तित्व, समन्वय र सहकार्य नै संघीयता भएको उल्लेख गर्दै संघीयता एउटा नयाँ मोडेल भएको बताए । उनले संसदीय अभ्यासका लागि यस्तो अवलोकन भ्रमण फलदायी हुने र यसबाट सिकेर आगामी कार्यभार पूरा गर्न सहज वातावरण तयार हुने बताए ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले संघीयताको पहिलो कडी प्रदेशसभा भएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको अधिकारलाई बुझ्ने र बुझाउनेमा समस्या देखिएको छ भने। उनले प्रदेश नं ५ बाट १६ विधेयक पारित भएको जानकारी दिँदै प्रदेशसभाको गरिमालाई मर्यादित र व्यवस्थित बनाउने कोसिस भएको जानकारी दिए।

गण्डकी प्रदेशका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक मायानाथ अधिकारीले सबै विषयमा सहमतिको प्रयास गरिएको जानकारी दिँदै प्रदेशसभालाई स्थापित गराउने कुरा चुनौतीपूर्ण भएको बताए ।

प्रदेश नं ५, नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले संघीयताको कार्यान्वयन गर्न प्रदेशसभाको गरिमालाई प्राथमिकतामा राखेर काम भएको जानकारी दिए। गण्डकी प्रदेश, विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले संघीयता भनेको एक खालको संघर्ष हो भने ।

Tags :
प्रतिक्रिया दिनुहोस