सुर्खेतका राउटे समुदायलाई जागिर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुर्खेतका राउटे समुदायलाई जागिर


१२ फाल्गुन २०७५, आइतबार


वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।

राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक एक हजार ५०० पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताए ।

नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ । त्यसैगरी समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ ।

त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वोत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वोत्तम पिठो प्रदान गरिएको हो । सोसकले सञ्चालन गरेको राउटे परियोजनाअन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेवको व्यवस्था गरिएको छ ।

परियोजनाअनुसार उनीहरुको समस्याका बारेमा ध्यान दिइनुका साथै बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ । सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको कमीका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस