सामुदायिक विद्यालयमा लिम्बू भाषा शिक्षक माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामुदायिक विद्यालयमा लिम्बू भाषा शिक्षक माग


११ फाल्गुन २०७५, शनिबार


म्याङलुङ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग गरेको छ । चुम्लुङले शुक्रबार लालीगुराँस नगरपालिका वसन्तपुरमा विभिन्न सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

स्थानीय स्रोतमा लिम्बू भाषा (आनीपान) पढाउँदै आएका आधारभूत तहका विद्यालयमा सरकारी दरबन्दी तोकेर शिक्षक नियुक्त गर्नसमेत स्थानीय तहसँग चुम्लुङले माग गरेको छ । विद्यालयमा रिक्त रहेका दरबन्दीमा तालीमप्राप्त भाषा शिक्षक नियुक्ति गर्नुपर्ने, लिम्बू भाषाका पाठ्यपुस्तक खरीद गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, लिम्बू भाषालाई सरकारी कामकाज र योग्यताको भाषा बनाइनु पर्ने, सबै स्थानीय तहमा लिम्बू भाषाको दोभाषे राख्नुपर्ने, आवासीय नमूना आधारभूत विद्यालय सञ्चालन गर्नुपर्ने र हाल विद्यालयमा लिम्बू भाषा अध्यापन गराइरहेका शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरी सेवा सुविधा वृद्धि गर्नुपर्ने चुम्लुङले माग गरेको छ ।

चुम्लुङ अध्यक्ष गणेश सेनेले नगरपालिकाका उपप्रमुख तिला पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पाठ्यक्रममै लिम्बू भाषालाई समेटिनु पर्ने, अन्य शिक्षकसरह लिम्बू भाषाका शिक्षकलाई सेवा सुविधा दिनुपर्ने, प्रत्येक विद्यालयमा बहुभाषिक शिक्षा लागू गर्नुपर्नेलगायतका माग राखे ।

जिल्लाका विभिन्न विद्यालयमा गरी ४८० लिम्बू समुदायका विद्यार्थीले लिम्बू भाषामा अध्ययन गरिरहेको चुम्लुङका सचिव तेजमान कन्दङवाले जानकारी दिए । माग पत्र बुझ्दै उपप्रमुख पोखरेलले नगर कार्यपालिकाको बैठकमा चुम्लुङका मागबारे छलफल गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस