पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।

उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ हजार ५५३ रुख काट्न निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्रै सम्झौता हुने आज आयोजित पत्रकार सम्मेलनमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

आगामी वैशाखभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि रुख कटानमा ढिलाई हुँदा परियोजना सम्पन्न हुन केही समय लाग्ने निगमले जनाएको छ । पाइप लाइन परियोजना जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

सन् २०१५ को अगष्टमा उक्त परियोजना सम्पन्न गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षीको उपस्थ्तििमा नयाँ दिल्लीबाटै पाइपलाइन निर्माण कार्यको शुभारम्भ भएको घोषणा गरिएको थियो ।

नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु गरिएको थियो । पाइपलाइन बिच्छ्याउने ठेक्का महाराष्ट्र सेम्लेस लिमिटेड कम्पनीले पाएको छ । पाइप लाइन पूर्ण रुपमा जमिनमुनीबाट बिच्छ्याएर ल्याउने कार्य भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्म प्रायःजसो स्थानमा २.५ मिटर गहिराइमा पाइप बिच्छ्याइएको निगमका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

परियोजना सम्पन्न भएपछि नेपालतर्फ हुने पेट्रोलियम पदार्थको ढुवानी सुनिश्चित हुने निगमको दाबी छ । विभिन्न पक्षबाट हुने बन्द, हड्ताल र अवरोधका समयमा पनि व्यवस्थित रुपमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आउनुका साथै पेट्रोलियम पदार्थको चुहावट र उच्च ढुवानी लागतसमेत कम हुने निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस