मानवअधिकार उल्लङ्घनका घटना बढ्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मानवअधिकार उल्लङ्घनका घटना बढ्दै


८ फाल्गुन २०७५, बुधबार


वीरेन्द्रनगर । कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् ।

मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले महिला बढी प्रभावित भएको जनाएको छ । विभिन्न घटनामा ३५३ महिला तथा १४९ पुरुष पीडित भएको पाइएको छ । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकारसम्बन्धी घटना घटेका छन् ।

महिला अधिकारसम्बन्धी २५७, बाल अधिकारसम्बन्धी ८७ र कुटपिटका ४७ घटना भएको छ । ति घटनामा ६ जना घाइते, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ ।

मानवअधिकारको बाधक मदिरा

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानवअधिकार उल्लङ्घनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएकी छन् । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको मात्र कार्यान्वयन गर्न सकेमा धेरै हदसम्म हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार उल्लङ्घनको अवस्था भयावह रहेको भन्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु मानवअधिकार हननको घटना भएकाले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस