खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित


६ फाल्गुन २०७५, सोमबार


म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

नेपाल सरकारको रु २८ लाख , फिनल्याड सरकारको रु १५ लाख ७५ हजार , मङ्गला गाउँपालिकाको सात लाख ३३ हजार , उपभोक्ताको रु ७३ हजार लगानी रहेको पञ्चासे ओखरबोट आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार बराबरको श्रमदान गरेका छन् ।

नेपाल सरकारको रु १८ लाख ७२ हजार , फिनल्याण्ड सरकारको रु १० लाख ४७ हजार , मङ्गला गाउँपालिकाको रु चार लाख ७५ हजार ६८ अनुदान रहेको धोबीखोला योजना निर्माणका लागि उपभोक्ताले रु १३ हजार ४७ लाख श्रम तथा रु ४७ हजार नगद योगदान गरेका छन् ।

निजी धारामार्फत घरघरमै खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई सुविधा, पानीको जोहो गर्न लाग्ने समयको बचत र सरसफाइमा सहज भएको तल्लो डडुवाकी श्रीकला अर्मजाले बताए ।

यसअघि सार्वजनिक धारा, कुवा र पँधेराको पानी उपभोग गर्दै आएका थिए । आयोजनाको दिगो सञ्चालनका लागि सबै उपभोक्ताको घरमा मिटर जडान गरी मासिक शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस