सुन चोरीको आरोपमा जेल चलान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन चोरीको आरोपमा जेल चलान


२८ माघ २०७५, सोमबार


सुनसहित एकजना पक्राउ

गौशाला । सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

श्रेष्ठ र अलीले जलेश्वर–२ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी दुई लाख ३२ हजार मूल्य बराबरको चोरी गरेका थिए ।

सुनको औँठी थान तीन, मङ्गलसूत्र थान एक र सुनको बल थान तीन जलेश्वर–१ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेको सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो ।

चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ ।

लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

गए राति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस हो हल्ला गरिरहेको खबर पाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले ती दुई युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको थियो ।

प्रहरीले ती दुवै युवकको साथबाट १५ ग्राम लागुऔषध गाँजा र नाइटोभेट नामक लागुऔषध ट्याब्लेट थान ३७ बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस