जयराम–हलेसी सडक जोखिमपूर्ण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जयराम–हलेसी सडक जोखिमपूर्ण


२४ माघ २०७५, बिहिबार


खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।

जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे छोटो समयमै उप्किएपछि सबैभन्दा बढी हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ ।

ठेकेदारको लापर्वाहीका कारण कालोपत्रे चाँडै उप्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको वडा नम्बर–३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राईले बताए । सो सडक खण्डमा सवारी साधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका शहर जाने र आउने एकमात्र प्रमुख हो । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने/जाने सयौँ सवारी साधनको ओहोरदोहोर हुने गर्छ ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धूलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धूलो छिर्ने गरेको यात्रुको गुनासो छ । २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मिटारसम्म तथा बडहरे र दुर्छिमको केही भागमा मर्मत गरिए पनि बीचका अन्य खण्डमा ठूला–ठूला खाल्डो यथावत छ ।

जयराम–हलेसीको विभिन्न १३ टुक्रा गरी १६ हजार ३०० मिटर खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको रौता कन्ट्रक्सनले सम्झौताअनुसारको काम पूरा गरेर हिँडिसकेको छ । सोही सडकखण्डको चिसो र हिलाम्मे हुने १७ हजार मिटर खण्डमा सूर्य कन्ट्रक्सनले आरसिसी ढलान र स्ट्रक्चरको काम गरिरहेको छ ।

स्थानीयवासीका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचमा पर्ने सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी बनेको स्थानीयवासीले बताएका छन् । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कम्तीमा दश वर्ष टिक्नुपर्ने उक्त सडकखण्डको ओटासिल तीन वर्ष नपुग्दै उप्किन थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले आफ्नो फाइदाका लागि गुणस्तरहीन काम गर्न थालेपछि स्थानीयले उसबेला नै सडक सङ्घर्ष समिति गठन गरेर खबरदारी गरे पनि गुणस्तरीय हुन सकेन ।

जयरामदेखि हलेसीसम्मको सडक पिच गर्नेक्रममा ठेकेदारले बस्ती नजिकबाहेकका विभिन्न खण्डमा कालोपत्रे नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि कालोपत्रेको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको स्थानीयले बताएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी आवत÷जावत गर्ने एक मात्र सडक जोखिमपूर्ण बनेपछि तत्काल पुनः मर्मत गर्न सडक विभागलाई अनुरोध गरिएको नगर प्रमुख इवन राईले बताए । “हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दिनानुदिन दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।” उनले भने, “सडक खाल्डाखुल्डी भएपछि जोखिम मोलेर दैनिक सयौँको सङ्ख्यामा ओहोर÷दोहोर गराउनुपर्ने भएकाले तत्काल मर्मत गरिदिन सडक विभागलाई अनुरोध गरिएको हो ।”

जयराम–हलेसी सडकखण्डमा देखिएको जोखिम न्यूनीकरण गर्न नगरपालिकाको तर्फबाट पटक÷पटक मर्मत गरिएको छ । जयराम–हलेसी सडक नगरपालिकाकोतर्फबाट गरिने मर्मतले मात्र सम्भव नहुने र उक्त सडक राष्ट्रिय गौरवको आयोजना भएकाले सडक विभागले हेर्नुपर्ने नगरप्रमुख राईको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस