किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण


प्रशासन विशेष ब्युरो

२० माघ २०७५, आइतबार


समायोजन

काठमाडौँ । उपसचिवलाई आइतबार दिने भनिएको समायोजन पत्र दिनभरि कुर्दा पनि प्रिन्ट गर्न नपाएपछि अनेक शंका/उपशंकाहरु गरिन थालेको छ ।

केही दिन अघि मन्त्रालयले आइतबारदेखि उपसचिवहरूले ‘आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्ने’ धारणा सार्वजनिक गरेसँगै आज(आइतबार) दिनभर कर्मचारीहरूको ध्यान सफ्टवेयरमै केन्द्रित रह्यो ।

सम्बन्धित समाचार : उपसचिवले आज समायोजन पत्र पाउने

केही उपसचिवहरूले बेलुकीसम्मै प्रशासन डटकमको कार्यालयमा फोन गरेर समायोजन सफ्टवेयरबारे चासो राखेका थिए भने कतिले अनेक आशङ्कासमेत गरे ।

आइतबारदेखि आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्ने भन्ने मन्त्रालयको भनाईको विश्वासमा बसेका उनीहरुले दिनभरि कुर्दा समेत सफ्टवेयरमा अप्सन नभेटेपछि प्रशासन डटकमले थप समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !

त्यसको केही मिनेट पछि नै मन्त्रालयका एक उच्च अधिकारीले प्रशासनलाई फोन गर्दै उपसचिवको आज दिने भनिएको समायोजन पत्र रोकिनुको कारणबारे बताएका छन् । मन्त्रालयका अधिकारीको भनाईसहित यसअघि प्रशासन डटकमले आईतबार समायोजन पत्र प्रिन्ट गर्न सक्ने समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

आइतबार उपसचिवहरुले आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन् भनेको थियो, तर राति अबेरसम्म कुर्दा पनि सफ्टवेयरमा अप्सन देखिएन, सफ्टवेयरमा राख्न बिर्सियो कि उपसचिवहरुले हेर्न नजानेका हुन् ? भन्ने प्रशानसन डटकमको प्रश्नमा उच्च अधिकारीले भने, ‘टुंग्याएर सबै ठिक्क पारिएको थियो, तर नतिजा सानदार आएन । तल रोज्ने जम्मा १२ जना मात्रै भए ।’

स्थानीय र प्रदेश रोज्ने प्रशासनका उपसचिवको संख्या ६/६ जना मात्रै भएपछि अन्य सेवासमूहका कर्मचारीसहित एकमुष्टरुपमा नतिजा निकाल्दा सकरात्मक सन्देश जाने भएकोले एकमुष्ट निकाल्न केही दिन रोकेको उनको भनाई छ ।

‘स्थानीय र प्रदेशमा दरवन्दी धेरै भएपनि प्रशासन सेवाको मात्रै भएर कम आएकोले तल नगएको जस्तो देखियो’, उनले भने ‘अन्य सेवा/समूहका उपसचिव सबैको राख्ने वित्तिकै स्थानीय र प्रदेशको एकदमै धेरै हुन्छ ।’

सबै सेवा समूहका उपसचिवहरुको नतिजा सफ्टवेयरमा राख्न अब कति दिन कुर्नुपर्छ ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘दिनरात काम गर्दा पनि नभ्याइएकोले केही ढिलाई भएको हो, अब मंगलवारसम्म प्रिन्ट गर्न मिल्नेगरी काम भईरहेको छ ।’

उनका अनुशार आइतबार प्रिन्ट हुने भनिएको समायोजन पत्र अब मंगलबारसम्मका लागि सरेको छ ।

स्थानीय र प्रदेशमा स्वास्थ्य, शिक्षा, कृषि, भेटेरीनरी तथा इन्जिनियरिङ सेवाका कर्मचारीको दरवन्दी धेरै रहेकोले उक्त सेवासमूहका कर्मचारीको तथ्याँक अपडेट गर्ने वित्तिकै स्थानीय तथा प्रदेश रोज्ने कर्मचारीको संख्या ह्वात्तै बढ्ने अधिकारीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस