१
१२ पास गरियो, लोक सेवा लडियो
पहिलो प्रयासमा खरिदार भए
अनि म निजामती ।
२
खरिदार भए, गाउँ गए
कति पैसा कमाइस् सबैले सोधे
तर म बोलिन,
किनकि म निजामती ।
३
जिन्दगीमा आफ्नो नाम नसुनेको
आफ्नो नामै नलेखेको
अनि,
कसै सामु आफ्नो नामै नभनेको
त्यो मेरो हजुरबुबा सामु,
कसरी भनु म पैसा कमाउन होइन,
देश र जनताको सेवा गर्न
भएको हु निजामती ।
४
खरिदार भएको १ वर्ष भयो,
आमाको फोन आयो
छोरो तलाई पढाउन साहुसँग लेको १ लाख
४ वर्ष पुग्यो,२ लाख भयो
तर म बोलिन,
किनकि म निजामती ।
५
खरिदार भएको २ वर्षपछि
फेरि लोकसेवा लडियो,
नासु भइयो,
काठमाडौँ आइयो
काठमाडौको ठाउँ
जताततै धुलो धुवा अनि जाम
अनि म निजामती ।
६
काठमाडौको १ मुठो साग
अनि २ घण्टा बोकेर मेरो बुवाले बेच्ने साग
अरू केही फरक छैन
मात्र मूल्य रु.२०(बीस), अनि मूल्य रु. ५(पाँच) ।
७
दुइटा कोठा लिन मेरो क्षमताले छैन
१ कोट, २ जना घरपेटिले दिँदैन
मेरो कोठा नआउनु होला भनेर आफन्तलाई सूचना जारी गर्न
मेरो मानवताले दिँदैन ।
८
तर पनि मलाई घृणा होइन गर्व छ,
किनकि
दोहोरो पेट्रोल लिने म नेता होइन,
दुइटा घरमा बस्ने म साम्साद होइन,
सचिव कुट्ने म मन्त्री होइन,
अरूलाई थाङ्ने भन्ने म माननीय होइन ।
९
म निजामती
कसैको दास होइन, कसैको थाङ्ने होइन
आफ्नै योग्यताले
आफ्नै क्षमता र स्वेच्छाले
जनताको मालिक होइन, सेवक हु
मात्र एक राष्ट्रसेवक ।
मात्र एक निजामती ।।