विशिष्ट श्रेणीका ५६ जना सचिवलाई समायोजन पत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विशिष्ट श्रेणीका ५६ जना सचिवलाई समायोजन पत्र


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


समायोजन

काठमाडौं । सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ ।

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन्।

उनका अनुसार ज्येष्ठताका आधारमा ती सचिवलाई मुख्य सचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका हुन् ।

केही दिनअघि मात्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतिका लागि पठाएको थियो ।

मन्त्रालयले पठाएको आधारमा मन्त्रिपरिषद्ले ती सचिवको समायोजन पत्र स्वीकृत गरी समायोजन गरेको हो ।

यसैगरी मन्त्रालयले तीनै तहमा सहसचिवको समायोजनका लागि पत्र तयार पारेको छ ।

उनका अनुसार समायोजन रोजेका करीब ६०० सहसचिवको समायोजन स्वीकृत गर्न मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाउन लागिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन् ।

कर्मचारीले गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए ।

यसैगरी संघमा मात्र सेवा समूह रहेकाको समायोजनको प्रक्रियासमेत शुरु गरिएको उपसचिव निरौलाले बताए । उनका अनुसार संघमा मात्र सेवा समूह रहेका परराष्ट्र, न्याय र महालेखा परीक्षक सेवा समूहको समायोजनको प्रक्रिया प्रारम्भ भएको छ ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस