देशभरको मौसममा बदली, काठमाडौं पानी पर्ने सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशभरको मौसममा बदली, काठमाडौं पानी पर्ने सम्भावना


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


काठमाडौं । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ । ‘।

‘यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो’, मौसमविद् नगरकोटीले भने । आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो ।

राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ । दाङमा न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ ।

Tags :
प्रतिक्रिया दिनुहोस