९४ प्रतिशत कर्मचारीले समायोजन फाराम भरे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

९४ प्रतिशत कर्मचारीले समायोजन फाराम भरे


प्रशासन विशेष ब्युरो

३ माघ २०७५, बिहिबार


काठमाडौँ । समायोजन फाराम भर्ने अन्तिम दिन हिजो(बुधवार) राति सवा १० बजेसम्म करिब ९४ प्रतिशत कर्मचारीले समायोजनको फाराम भरेका छन् ।

करिब ८९ हजार कर्मचारीमध्ये स्वतः सङ्घमा दरबन्दी रहने र केही महिनाभित्र अनिवार्य अवकाश लिने कर्मचारीबाहेक ९४ प्रतिशत कर्मचारीले समायोजन फाराम भरेको सङ्घीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

‘परराष्ट्र, लेखा परीक्षण र न्याय सेवाका कर्मचारीको दरबन्दी सङ्घमा मात्रै छ,’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी सङ्गठन तथा सामाजिक विकास महाशाखाका प्रमुख केदार पनेरुले भने, ‘६ महिनामा घर जाने कर्मचारी छोडेर करिब ९४ प्रतिशत कर्मचारीले समायोजन फाराम भरेका छन् ।’

८९ हजार कर्मचारीमध्ये ७५ हजार कर्मचारीले अनलाइन फाराम भरेको उनको दाबी छ । ‘न्याय, परराष्ट्र र लेखापरीक्षणका सङ्घमा रहने ४ देखि ५ हजार कर्मचारीको दरबन्दी घटाउँदा ८४ हजार बाँकी रहन्छ,’ पनेरुले भने, ‘यसमा ६ महिनाभित्र ४ हजार कर्मचारीले अनिवार्य अवकाश लिँदा बाँकी रहने ८० हजार कर्मचारीमा ७५ हजारले फाराम भर्दा करिब ९४ प्रतिशत कर्मचारी हुन आउँछ ।’

हेर्नुहोस् समायोजन सफ्टवेयरमा देखिएको तथ्याङ्क

स्थानीयमा एक जनाले १० १५ ठाउँमा रोजेकोले सङ्ख्या धेरै भएको उनले बताए । प्रदेशमा पनि ४ ५वटा भरेकोले त्यो भन्दा केही कम र सङ्घमा एउटा मात्रै रोजेकोले ४६ हजारले भरे ।

पहिलो चरणमा सचिवलाई समायोजन पत्र
कर्मचारी समायोजन सुरु भएको पहिलो चरणमा विशिष्ट श्रेणी(सचिव)का कर्मचारीलाई समायोजन गरिने छ । मुख्य सचिवले यसै हप्ता सङ्घमा समायोजन हुने सचिवलाई पत्र दिने सम्भावना रहेको महाशाखा प्रमुख पनेरुले प्रशासनलाई बताए ।

समायोजन फाराम भरेको कति दिनपछि समायोजन प्रक्रिया सुरु हुन्छ ? भन्ने प्रशासन डटकमको प्रश्नमा महाशाखा प्रमुख पनेरुले भने, ‘आजकै क्याबिनेटमा प्रस्ताव जान सक्छ ।’

सचिवलाई सङ्घमा समायोजन भएको पत्रपछि सहसचिव, उपसचिव हुँदै क्रमशः अन्य कर्मचारीको सुरु हुने उनले बताएका छन् ।

१२ बजेसम्म कति कर्मचारीले समायोजन फाराम भरे भन्नेबारे यकिन विवरण आज दिउँसो मात्रै भन्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस