जापानी विदेशमन्त्री कोनो स्वदेश प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानी विदेशमन्त्री कोनो स्वदेश प्रस्थान


प्रशासन संवाददाता

२६ पुस २०७५, बिहिबार


काठमाडौं । नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गरे ।

आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।

मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस