टुहुरो निजामती « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टुहुरो निजामती


२१ पुस २०७५, शनिबार


निजामती

संसारमा आजसम्म
प्रकाशित भएका
मानव अधिकारसम्बन्धी
सबैभन्दा ठुलो कुनै पुस्तक छ भने
त्यो रित्याएको छ,
कण्ठस्थै पारेको छ
मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र,
अक्षर, शब्द र भाव फर्फर्ति भन्न सक्छ
एक दर्जनभन्दा बढी देशका संविधानको,
शासकीय व्यवस्था र स्वरूप
समावेशीकरण र सामाजिक न्याय सम्बन्धी
घण्टौँ बहस गर्न सक्छ ।

आज, उसको बोली हराएक‍ो छ
जोस र जाँगरहरू थन्काएको छ ,
वधशालामा काटिन ठिक्क पारेको जीवजस्तो
तरबारका अगाडी चुपचाप गर्धन सोझ्याएको छ,
मसानघाटबाट फर्कँदै छ
आफ्नै अधिकारहरूको मलामी बनेर।

शब्दहरू मौन छन्
विद्रोह गर्न मान्दैनन् अक्षरहरू
मानुन् पनि कसरी ?
कलमलाई बन्धक बनाइएको छ
आचरण र अनुशासनको नाममा
हिजो पढेको मानव अधिकारले
आज उसैलाई गिज्याई रहेको छ ।

मलाई आज संविधान पढ्न पठाउनेहरूलाई
कसैले भनिदिनुहोस न,
वर्तमान संविधान मात्र हैन कि
आजसम्मका सबै नेपाली संविधान
नअक्मकाईकन भन्न सक्छ भनेर,
र यो पनि भनिदिनुहोस
उसले जनताले तिरेको कर लुटेर खाएको हैन की,
शासन सञ्चालनको लागि उसको विद्धतालाई
सरकारले किनेको हो भनेर ।

प्रतिक्रिया दिनुहोस