कन्दमूल खाएर ‘पुसे पन्ध्र’ मनाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कन्दमूल खाएर ‘पुसे पन्ध्र’ मनाइँदै


१५ पुस २०७५, आइतबार


डोटी । सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ ।

यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ ।

डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको डोटी बोगटान गाउँपालिका सिमीचौरका स्थानीयवासी हेमबादुर बुढाले बताए ।

आज राति मीठा खानेकुरा पकाएर खुवाउने, रातभरि जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । यति मात्र नभई सुदूरपश्चिमभरिमा आजको रातलाई पन्नरी रातसमेत भन्ने चलन छ ।

आजको रातिमा तरुल, तेकुना, फर्सी, पिँडालु, सख्खरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको शिखर नगरपालिका–१ कप्पलेकीका स्थानीयवासी अनिल शाहीले बताए ।

पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानीयवासी दिनभरि जङ्गलमा गएर तरुललगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन् ।

पुस १५ देखि दिनहरु बिस्तारै लम्बिदै जाने किंवदन्ती रहेको छ । आज राति खानका लागि यहाँका बजारहरुमा विभिन्न जङ्गली कन्दमूल बिक्री वितरण गर्नेहरुको बिहानदेखि घुइँचो लागेको दीपायल पिपल्लाका स्थानीय व्यापारी लेकबहादुर देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस