धर्मशास्त्रमा गरिएको मरणाशौचको सूक्ष्म चिन्तन « प्रशासन
prasaLogo
१४ पुष २०७५, शनिबार

धर्मशास्त्रमा गरिएको मरणाशौचको सूक्ष्म चिन्तन


प्रकाशित मिति : 29 December, 2018 9:27 am

वैदिक सनातन धर्म भित्र समाजमा नैतिकता र मर्यादा पालनाका लागि हाम्रा आर्य ग्रन्थहरुमा विभिन्न विषयहरु प्रतिपादित गरिएका छन् । यसै विषयलाई धर्म पनि भन्न सकिन्छ । मुलतः वेद निहित कर्म नै धर्म हो । धर्मशास्त्रले नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्मको निर्देशित गरेका छन् । यिनमा आशौच निर्णय पनि एक प्रमुख विषय हो । हाम्रो समाजमा मुख्यतः दुई किसिमका आशौचको विधान मध्ये जन्माशौच(सुतक) तथा मरणाशौच(जुठो) हो । यस प्रसंगमा मरणाशौच(जुठो)को विषयमा अत्यन्तै सूक्ष्म चिन्तन विविध धर्मशास्त्रहरुमा गरिएको प्रसंगलाई समावेश गर्ने प्रयास गरिएको छ ।

१. मूलपुरुषदेखि आरम्भ गरेर ७ पुस्तासम्मका भाइबन्धुहरुलाई सपिण्डी भनिन्छ । सपिण्डीहरुको आशौच (जुठो) १० दिन लाग्दछ ।
२. ८ देखि १४ पुस्तासम्मको भाइबन्धुहरुलाई सोदक भनिन्छ । सोदकहरुको आशौच (जुठो) ३ दिन लाग्दछ ।
३. १५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु सगोत्र भनिन्छ । सगोत्रहरुको आशौच (जुठो) १ दिन भन्नाले अहोरात्र (दिन र रात) लाग्दछ ।
४. पहिलेदेखि चलिआएको आशौच (जुठो) नसकिँदै अर्को त्यही समान वा सानोको आशौच (जुठो) थपियो भने पहिलेको सँगै सकिन्छ तर त्योभन्दा नजिकको वा ठुलो आशौच (जुठो) थपियो भने पुरै बार्नु पर्दछ ।
५. जन्मआशौच सुतक नसकिँदै मरणाशौच (जुठो) परेमा १० बार्नु पर्दछ ।
६. दशौं दिनको मध्यरात्रीसम्म अर्को मरणाशौच पर्यो भने २ दिन बढी बार्नु पर्दछ तर सानो वा ठूलोको विचार गर्नु पर्दछ । कहीँ कतै अलग–अलग बार्नु पर्दछ भन्ने पनि गरिन्छ । यसमा आ–आफ्नो कुलानुसार विचार गर्नु पर्दछ ।
७. पहिलो मरणाशौचको एघारौं दिनको सूर्योदयपछि अर्को मरणाशौच (जुठो) पर्योे पुरै मरणाशौच बार्नु पर्दछ ।
८. आमा–बुबा वा पति–पत्निको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच लैजान्छ भन्ने नियम लागु हुँदैन पुरा अलग–अलग रुपमा बार्नु पर्दछ ।
९. आफ्नो आमा–बुबा, पति–पत्नीको जुठो १ वर्षसम्म निष्ठापूर्वक बार्नु पर्दछ , सौतेनी आमाको ६ महिना, सहोदर दाईभाइमा परस्पर ४५ दिन जुठो बार्नु पर्दछ ।
१०. जसको जतिदिन मरणाशौच जुठो लाथ्ने हो त्यति नै दिनबितेपछि सुनिएको आशौचलाई अतिक्रान्ता भनिन्छ । यस्तो प्रकारको जुठोमा आमा–बुबा, पति–पत्नि बाहेक अरुलाई स्नान मात्रैले शुद्ध हुन्छ ।
११. आशौचहरुमा क्रमशः सुतक, जुठो, रजस्वला, (नछुनेहुनु), सुतकी (सुत्केरी), शवदाहक (क्रियापूत्री)को उत्तरोत्तर प्रवलता हुन्छ ।
१२. १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिना भित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले शुद्ध हुन्छ ।
१३. विदेशमा रहेको अवस्थामा आमा–बुबा, पति–पत्नि मा १० भित्र सुनेमा मृत्यु भएको दिनदेखि गणना गरेर १० दिनसम्म बार्ने, तर १० दिन बितेपछि सुनेमा सुनेकै दिनदेखि गनेर १० सम्म पुरा बार्नु पर्दछ ।
१३. विदेशमा गएर मृत्यु भएका पति वा पत्नीबीचमा परस्पर १० दिन जुठो बार्नु पर्दछ ।
१४. सौतेनी आमाको अतिक्रान्त जुठो ३ दिन लाग्छ , व्रतबन्ध गरेको पुत्रको वर्षदिन भित्रमा पुरा र वर्षदिन पछि सुनेमा ३ दिन जुठो लाग्छ ।
१५. सगोत्री वा अरु जो कोहीले कारणवस दागबती दिएमा उसको नवश्राद्ध गरेर १० दिनमा चोखिन्छ ।
१६. रात्रिमा जन्म, मृत्यु, रजस्वला आदि भएमा रात्रिमानलाई ३ ले भाग गर्दा पहिलो दुईभागभित्र परेमा अघिल्लो दिन र अन्तिम भागमा परेमा भोलिपल्टको दिनको हिसाबले गणना गर्नु पर्दछ । तर कहीँ कतै सूर्योदयको अनुसार गर्ने चलन छ ।
१७. बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सुतक शुरु हुन्छ । आमालाई ३० रात बितेपछि पितृ वा देवकार्य र भान्छा चलाउन शुद्ध हुन्छ ।
१८. नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० सुतक बार्नु पर्दछ तर जुठो लाग्दैन ।
१९. नामाकरण भन्दा पहिले बच्चाको मृत्यु भएमा स्नान मात्र तर नामाकरण पछि दाँत नउम्रिन्जेल मृत्यु भई जलाएमा १ दिन बार्नु पर्दछ । तर नजलाएको खण्डमा स्नान मात्रै गर्दा हुन्छ । दाँत उम्रिए र ३ वर्ष भित्र चूडा क्षौर कर्म नगरुन्जेल १ दिन, चूडा कर्म भैसकेको भए वा ३ वर्षपछि व्रतबन्ध अगाडिको अवस्थामा पनि ३ दिन र व्रतबन्धपछि मृत्यु भएमा पुरा जुठो बार्नु पर्दछ ।
२०. चुडा गर्नु पूर्व कन्याको मृत्यु भएमा सपिण्डीहरु स्नानले शुद्ध हुन्छन् । ३ वर्षपछि बाग्दान पूर्व १ दिन तथा बाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुवै कुलमा ७ पुस्तासम्मका दाज्युभाइहरुलाई ३ दिनसम्म जुठो लाग्दछ ।
२१. विवाह गरेकी विवाहिताको जुठो पिताको कुलमा ७ पुस्तासम्मका लागि ३ दिन लाग्दछ ।
२२. विवाहिता छोरी पिताको घरमा सुत्केरी भएमा दाजुभाइ, बान्धव, आमा–बुबालाई १ दिन सुतक लाग्दछ ।
२३. गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भान्जा–भान्जी, छोरीको छोरा–छोरी, आमाका आमा–बुबा, पत्निको आमा–बुबा, आफ्नो वा पति–पत्निको मामा–माईज्यु, छोरी–ज्वाँईको जुठो ३ दिन लाग्दछ ।
२४. विवाहिता छोरीलाई आफ्ना आमा–बुबा वा दाजु–भाइको जुठो ३ लाग्दछ भने अविवाहिता छोरीले पुरा १० जुठो बार्नु पर्दछ ।
२५. विवाहिता दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर जुठो ३ दिन लाग्दछ ।
२६. आफुले पढाएको वा मन्त्रदान गरेको शिष्य, यजमान, पुरोहित, जेठान, जेठीसासु, साला–साली, भिनाजु, ज्वाँई, ठुली–सानी आमाका छोरा–छोरी र आफ्नै घरको सहयोगीहरुको जुठो १ दिन लाग्दछ ।
२७. भाउजु–बुहारी, नन्द आमाजुको परस्परमा जुठो १ दिन लाग्दछ । मामाको अथवा फुपुको छोरा–छोरी, कर्म नचलेको भान्जा–भान्जी, कर्म नचलेको छारीको छोरा–छोरी, मित र सहपाटीको जुठो डेढ दिन (३६ घण्ट), लाग्दछ ।
२८. धर्मपुत्र वा धर्मपुत्रीको हकमा पालकमाता–पिता वा जनकपिता दुवैतर्फ ३ दिन जुठो लाग्दछ ।
२९. एउटै आमाको तर पृथक पृथक पिताबाट जन्मेका दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर सुतक भएमा १ दिन र जुठो भएमा ३ दिन लाग्दछ ।
३०. गुरुको पति–पत्नि वा छोरा–छोरीको जुठो १ दिन लाग्दछ ।
३१. एउटै गाँउ टोलछिमेकमा मृत्यु भएमा कुनै पनि नाता सम्बन्धी नपरेमा पनि जबसम्म लाश बाहिर लगिन्दैन तबसम्म जुठो रहने हुनाले देवकार्य–पितृकार्य गर्नु हुँदैन भन्ने विचार पनि शास्त्रमा उल्लेख पाईन्छ ।
३२. दशाह बन्धुहरुमा आफु जिवितै आफ्नो श्राद्ध आफैले गरिसकेको व्यक्ति, वानप्रस्थी, सन्यासी, र ब्रम्हचारी समेतले अरुको जुठो बार्नु पर्दैन । तर उनीहरुको सपिण्डी भित्रका भाइबन्धुहरुले बार्नु वा नबार्नु स्वइच्छामा तर छोरा–छोरीले भने गर्नु पर्ने सम्पूर्ण कृत्य गर्नु पर्छ । त्यस्ता व्यक्तिहरुको मृत शरीरलाई गाड्ने वा वलाउने जे गर्दा पनि हुन्छ ।
३३. आत्मा हत्या गर्नेहरुको मरणाशौच जुठो लाग्दैन भन्ने भनाई शास्त्रहरुमा उल्लेख छ ।
३४. पहिले पतिलाई छाडेर द्वोस्रो पतिबाट जन्मेका सन्तानहरुको आशौच लाग्दैन । देशमा संकट परेको अवस्थामा, अनिकाल परेको बेलामा, आशौच नबारे पनि हुन्छ । त्यस्तै रोगी, वैद्य, कालिगढ, शिल्पकार, अत्यावश्यक सेवामा रहेका राजकिय कर्मचारी आदिले प्रतिकुल अवस्थामा आवश्यकता अनुसारमा आशौच नबार्दा पनि केही हुँदैन ।
३५. व्रत सत्र, विवाह, श्राद्ध, होम, अर्जन, जप प्रारम्भ भइसकेको अवस्थामा आशौच लान्दैन ।
३६. यज्ञादिमा ब्राह्मणको वरणभएपछि, व्रतसत्रमा संकल्प गरेपछि, विवाहादिमा काम्य नान्दीमुख श्राद्ध गरेपछि, पाककर्म (पाकी सकेपछि), आशौच लाग्दैन ।
३७. विवाह, व्रतबन्ध, उत्सव, यज्ञादिको बीचमा आशौच परेमा अन्य शुद्ध आशौच नलाग्ने व्यक्तिहरुले ब्राह्मण भोजल गराउने, संकल्प गरिसकेकाले अभम दोष छैन ।
३८. जुठो सुतक परेका घरमा जलपान ग्रहण गर्नेहरुलाई पनि त्यो घर शुद्ध नभएसम्म शुद्ध नमानिन्ने हुनाले त्यस्तो घरमा प्रायः कसैले जलपानसम्म पनि ग्रहण नगर्ने चलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस