पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी


१२ पुस २०७५, बिहिबार


हेटौँडा । विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ ।

विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताए ।

नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएका कारणले तस्करी नियन्त्रण भएको र नियमित विद्युत् आपूर्ति भएकाले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको हो ।

भारतको विहार, रक्सौल इन्धन डिपोबाट पेट्रोलियम पदार्थ नेपाललाई लिन आग्रह गरिरहेको तर बिक्री वितरणको कमीले आयातमा कमी आएको प्रमुख यादव बताउछन् । डिजेल र पेट्रोलमा मात्र होइन, मट्टीतेलको बिक्रीमा समेत कमी आएको छ । बारा, पर्सा र रौतहटका गरी ११४ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प सो शाखाअन्तर्गत रहेका छन् ।

हाल दैनिक पेट्रोल ६० हजार लिटर, डिजेल २ लाख ५० हजार लिटर र मट्टीतेल हप्तामा १२ हजार लिटर रक्सौलबाट आयात गरी व्यवसायीलाई वितरण भइरहेको छ ।

एक महीना अघि ८६ हजार लिटरदेखि ९६ हजार लिटर पेट्रोल तथा तीन लाख ५० हजार लिटर डिजेल दैनिक आयात भइरहेको थियो । सो शाखामा भण्डारण गरिने ट्याङ्की नरहेकाले जसरी आयात गरिन्छ, त्यसरी नै पम्प र उद्योगीलाई वितरण गरिन्छ । उनले पम्प व्यवसायीलाई पटकपटक आग्रह गर्दा पनि बिक्री वितरण नभएको भन्दै कम मात्रामा डिजेल र पेट्रोल लिने गरेको बताए ।

बारा, सिमराका पम्प व्यवसायी राम दास अहिले बिक्री नभएका कारण कारोवारमा कमी आएको बताउछन् । नेपाल आयल निगम, अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादव उद्योगी व्यवसायीले डिजेल खरीद कम गरेका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस