काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्घीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने बताएका छन्।
उनले प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मी काठमाडौं निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए ।
यस्तै, मन्त्री ज्ञवालीले मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोडिने र रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुने बताए । जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए ।







