सरकारलाई कर्मचारीको पूर्ण सहयोग : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारलाई कर्मचारीको पूर्ण सहयोग : प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

२४ मंसिर २०७५, सोमबार


कर्मचारी

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताएका छन् ।

अन्तर प्रदेश परिषद्को बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘कर्मचारीहरू पनि संघीयतामा पोख्त होइनन् । उनीहरूले पनि सङ्घीयताको प्रयोग सिक्दैछन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यसैले सङ्घीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरूले जाने बुझे अनुसार सहयोग नै गरेका छन् ।’

आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरूमा कर्मचारीको अभाव भएको हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतन्त्र विरोधी केही तत्त्वहरूले विभिन्न विषय उचालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यस्ताहरूलाई मौका दिनु हुँदैन ।’

देशमा अनेक नाममाद्वन्द्वमच्चाउने र विखण्डनको प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए । ‘देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अब चाहिएको कुन व्यवस्था हो ? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने ‘त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो ।’

आजको बैठकमा प्रदेश ५ का मूख्यमन्त्री शङ्कर पोख्रेल, कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेस गरेका थिए ।

आजको बैठकले प्रदेश र सङ्घका काममा तालमेल मिलाउन, आवश्यक कानुनहरूको परिमार्जित गर्न र प्रदेशहरूलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थ मन्त्री डा.युवराज खतिवडा, प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत,प्रदेश ५ का मूख्यमन्त्री शङ्कर पोख्रेल र मुख्य सचिव लोक दर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ । समितिलाई आगामी पौष ३ गते प्रधानमन्त्री के पी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस