काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४ दशमलव ९१ बिन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ ।
कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह सबैको शेयर मूल्य घटेको छ । बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त २ दशमलव ४, निर्जीवन बीमा १८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शून्य ८, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६ दशमलव शून्य १ बिन्दुले घटेको छ ।
घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले भने कमाएका छन् । राधी विद्युत् कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।







