स्थानीय तहले गाडी खरीदमा सात करोड खर्चिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहले गाडी खरीदमा सात करोड खर्चिए


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


तेह्रथुम । तेह्रथुमका छ वटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् ।

कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ ।

म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५५ लाखमा एउटा स्कार्पियो गाडी खरीद गरेको छ । यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताए । गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

रु १९ लाखमा एउटा ट्र्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले रु ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ ।

लालीगुराँस नगरपालिकाले पनि रु ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । ९ वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले, तीन वटा रु २ लाख ६० हजारका दरले र बाँकी तीन वटा भने रु २ लाख ३ हजार, ४ लाख ८० हजार र ४ लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए ।

यसका साथै रु ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरीदका लागि रु १० लाख र नगर बस खरीदका लागि रु ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए ।

उता छथर गाउँपालिकाले पनि रु ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरीद गरेको छ । चार वटा मोटरसाइकल रु २ लाख १७ हजारका दरले रु ८ लाख ६८ हजारको र रु २ लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साविकका गाविसले खरीद गरेका ३ वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् ।

मेन्छ्यायेम गाउँपालिकाले रु ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । रु २ लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए ।

फेदाप गाउँपालिकाले रु ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु ५ लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए । उनले रु ३ लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरीद गरिने बताए ।

साविक गाविसले पहिले नै ५ वटा मोटरसाइकल खरीद गरेका थिए । आठराई गाउँपालिकाले रु ५२ लाखमा एउटा स्कार्पियो गाडी र रु २ लाख १५ हजारका दरले ४ वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताउ ।

उन्ले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरीद गर्न रु ५ लाख रकम छुट्याएको बताउ । साविकका गाविसले खरीद गरेका ७ वटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा खरीद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी अलिक बढी विलाशीता भोगी हुँदै गएको आभास भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस