राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच शिष्टचार भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच शिष्टचार भेट


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबीच शिष्टचार भेट भएको छ । आफ्नो दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत होङले मंगलबार सिंहरदबारमा अध्यक्ष तिमिल्सिनासँग भेट गरेका हुन् ।

शिष्टचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले राजदूतको दुई वर्षको कार्यकाल सफल भएकोमा बधाई व्यक्त गरे । उनले राजदूत होङको कार्यकालमा नेपालले तीन तहको निर्वाचन सम्पन्न गरी अस्थिरताको अन्त्य सफल भएको बताए । निर्वाचनपछि स्थायी सरकार निमार्ण गरी समृद्धितर्फ अगाडि बढेको नेपाललाई चीनको साथ र सहयोग उल्लेखनीय रहेको जानकारी दिए ।

‘नयाँ सरकार निमार्णपछि नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र थुप्रै मन्त्रीहरुले चीनको भ्रमण गरेका छन्,’ तिमिल्सिनाले भने, ‘ती उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौतालगायत थुप्रै कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै चिनियाँ उच्च राजनीतिक तथा सरकारी टोलीले पनि यहाँकै कार्यकालमा नेपाल भ्रमण गरेका छन् । यसकारण यहाँको कार्यकाल सफल र ऐतिहासिक भएको मैले विश्वास लिएको छु ।’

राजदूत होङकै कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने चर्चा चलेको बताउँदै उनले छिट्टै राष्ट्रपति सीको भ्रमण हुने अपेक्षा व्यक्त गरे । साथै उनले नेपालको संसद र चीनको नेसनल्स पिपुल्स कांग्रेसबीच पनि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा अनुभव आदनप्रदानका लागि भ्रमण आवश्यक रहेको बताए ।

भेटमा राजदूत यू होङले आफ्नो कार्यकालमा नेपालले संविधानमार्फत प्राप्त गरेको ऐतिहासिक परिवर्तनलाई कार्यन्वयन गर्न सफल भएको बताए । उनले छोटो समयमा तीन तहको निर्वाचन सम्पन्न गरी स्थायी सरकार निमार्ण गरेको नेपाल सरकार, राजनीतिक दल र जनताले अन्तर्राष्ट्रिय समुदायको मन जित्न सफल भएको जानकारी दिए ।

‘स्थायी सरकार निमार्ण गरी नेपाल विकासको बाटोमा अगाडि बढेको छ । यसमा म खुसी छु,’ उनले भने, ‘निर्वाचनपछि गठन भएको नेपालको संघीय संसद महत्वपूर्ण संरचना हो । त्यसैले चिनियाँ कंग्रेस पनि नेपालको संसदसँग सहकार्य गर्न तयार छ ।’
राजदूत होङले अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेसको भ्रमण गरी अनुभव आदान प्रदान गर्न निम्तासमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस