लोक सेवा उतिर्ण हुनेमा २५ देखि ३० वर्षका धेरै, कृषि अधिकृतमा चितवन अग्रस्थानमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा उतिर्ण हुनेमा २५ देखि ३० वर्षका धेरै, कृषि अधिकृतमा चितवन अग्रस्थानमा


४ मंसिर २०७५, मंगलबार


लोक सेवा

काठमाडौँ । लोक सेवा परीक्षामा सफल हुने उम्मेदवारहरूमध्ये २५ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन् ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्रा.), कृषि सेवा तर्फ विभिन्न १० वटा समूहमा १११ जनाको लागि खुला तथा समावेशीका आधारमा गरेको विज्ञापनको नतिजाअनुसार २५ देखि ३० वर्ष उमेर समूहका ६७ जना सिफारिस भएका छन् ।

सिफारिस भएका उम्मेदवारहरूको उमेर समूह २५ वर्षसम्मका २७ जना, ३० देखि ३५ वर्ष उमेर समूहका ११ जना र ३५ वर्ष माथिका २ जना रहेको लोक सेवा आयोगले जनाएको छ ।

जिल्लागत रूपमा चितवन सबैभन्दा अगाडी
त्यसैगरी जिल्लागत रूपमा सबैभन्दा बढी चितवन जिल्लाबाट ११ जना सिफारिस भएका छन् । दोस्रो स्थानमा रुपन्देही रहेको छ । सिफारिस भएका उम्मेदवारहरूमध्ये रुपन्देहीबाट १०, महोत्तरीका ६, कपिलवस्तु, काठमाडौँ र नवलपरासीका ५/५ जना, तनहुँ, मोरङ र ललितपुरका ४/४ जना, काभ्रे, भक्तपुर र सुर्खेतका ३/३ जना रहेका छन् ।

कास्की, कैलाली, खोटाङ, दाङ, धनुषा, बागलुङ, रामेछाप, सप्तरी, सर्लाही र सुनसरीका २/२ जना अछाम, अर्घाखाँची, उदयपुर, कञ्चनपुर, गोरखा, झापा, डडेलधुरा, ताप्लेजुङ, दैलेख, धनकुटा, धार्दिङ, पर्वत, पाल्पा, बझाङ, बर्दिया, बाँके, बाजुरा, मकवानपुर, म्याग्दी, रसुवा, रोल्पा, रौतहट, सिराहा, स्याङ्जाका १/१ जना सिफारिस भएका छन् ।

प्रदेशमा ५ नम्बर प्रदेश अगाडी
कृषि सेवाका अधिकृतस्तरका पदहरूमा सबैभन्दा धेरै प्रदेश ३ बाट ३१ जना सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रदेश ५ बाट २२ जना, तेस्रोमा प्रदेश प्रदेश ४ बाट १७ जना सिफारिस भएका छन् भने प्रदेश २ बाट १४ जना, प्रदेश नम्बर १ बाट १२ जना, प्रदेश नम्बर ७ बाट ७ जना र प्रदेश ६ बाट ४ जना सिफारिस भएका छन् ।

सिफारिस भएका उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यताका आधारमा विशिष्ट श्रेणीका ३५ जना, प्रथम श्रेणीका ६९ जना र द्वितीय श्रेणीका ३ जना रहेका छन् ।

समूहगतरुपमा कृषि प्रसार समूह अग्रस्थानमा
कृषि सेवाको अधिकृत स्तरमा कृषि प्रसार समूह अग्रस्थानमा देखिएको छ । कृषि प्रसार समूहमा २० जना सिफारिस भएका छन् भने दोस्रोमा बागवानी समूहमा १२, बाली विकास समूहमा ४, बाली संरक्षण समूहमा १५, एगृ इकोएण्ड मार्केटिङ स्टाटिष्टिक समूहमा ११, माटो विज्ञान समूहमा १, मत्स्य समूहमा ९, ला.पो. एण्ड डे.डे. समूहमा १४, भेटेरिनरी समूहमा १८ र खाद्य पोषण तथा गुण नियन्त्रण समूहमा ३ जना उम्मेदवारहरू सिफारिस भएका छन् ।

४ पदमा पदपूर्ति हुन सकेन
कुल माग पद १११ मध्ये १०७ जनाको पदपूर्ति भएको छ । एग्रि, इको एन्ड मार्केटिङ समूहमा आदिवासी÷जनजाति तर्फ १ पद, दलित तर्फ १ पद, अपाङ्ग तर्फ १ पद र खाद्य पोषण तथा गुण नियन्त्रण समूहमा पिछडिएको क्षेत्रतर्फ १ पद गरी जम्मा ४ पदमा पदपूर्ति हुन सकेन ।

उक्त विज्ञापनमा ४६ जिल्लाबाट उम्मेदवारहरू सिफारिस भएका छन् ।

२०७४ कार्तिक २९ गते आयोगबाट विज्ञापन भएका पदहरू खुलातर्फ ६१, महिला १३, आदिवासी÷जनजाति १४, मधेसी ११, दलित ६, अपाङ्ग २ र पिछडिएको क्षेत्रतर्फ ४ जना गरी जम्मा १११ पदमा विज्ञापन प्रकाशन भएको थियो । ती पदहरू कृषि प्रसार समूहमा २०, बागवानी समूहमा १२, बाली विकास समूहमा ४, बाली संरक्षण समूहमा १५, एगृ इकोएण्ड मार्केटिङ स्टाटिष्टिक समूहमा १४, माटो विज्ञान समूहमा १, मत्स्य समूहमा ९, ला.पो. एण्ड डे.डे. समूहमा १४, भेटेरिनरी समूहमा १८ र खाद्य पोषण तथा गुण नियन्त्रण समूहमा ४ वटा रहेका थिए ।

कृषि सेवाका अधिकृत वा सो सरह पदको लिखित परीक्षा २०७४ माघ/फागुनमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको २०७५ कार्तिक ८ गते देखि मंसिर ३ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता सञ्चालन भएको थियो ।

कृषि सेवामा अधिकृत पदका उम्मेदवारहरूले प्रथम पत्रको लिखित परीक्षा १०० पूर्णाङ्कको वस्तुगत बहुवैकल्पिक प्रश्नका आधारमा र दोस्रो पत्र १०० पूर्णाङ्कको विषयगत परीक्षा दिनुपर्ने व्यवस्था छ । लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको १० पूर्णाङ्कको सामूहिक परीक्षण र लिखित परीक्षाको पूर्णाङ्क अनुसार लिखित परीक्षाको १०० पूर्णाङ्कका लागि २० र प्रत्येक थप १०० पूर्णाङ्कका लागि थप १० अंकका दरले हुन आउने अंकको अन्तर्वार्ता लिने व्यवस्था रहेको छ ।

कृषि विषयमा न्यूनतम स्नातक उत्तीर्ण उम्मेदवारहरूले कृषि सेवाको अधिकृत सरहको पदमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सामूहिक छलफल र अन्तर्वार्तामा व्यवहारिक परीक्षण समेत भई नियुक्तिका लागि छनौट गर्ने आयोगका सहसचिव तथा प्रवक्त्ता किरण राज शर्माले प्रशासनसँग बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस