स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट


२ मंसिर २०७५, आइतबार


सोलुखुम्बु । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो ।

योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका योजना पनि छनोट गरिएको छ । छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिकाअन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि रु १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि रु २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि रु २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

यस्तै, माप्यदुधकोशी गाउँपालिकाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा रु ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा रु १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा रु १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी थुलुङदुधकोशी गाउँपालिकाअन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा रु ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले जानकारी दिए।

लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवर्द्धन योजनाका लागि रु १५ लाख, किबीखेती प्रवर्द्धनमा रु १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा रु १५ लाख, सोताङ गाउँपालिकाअन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि रु १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवद्र्धनका लागि ट्र्याकओपनमा रु १० लाख विनियोजन गरिएको छ ।

नेचासल्यान गाउँपालिकाअन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि रु १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि रु २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि रु १५ लाख रकम विनियोजन गरिएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि रु चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले जानकारी दिए।

त्यसैगरी महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा रु २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा रु १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा रु १० लाख रकम विनियोजन गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस