राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ : झलनाथ खनाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ : झलनाथ खनाल


२६ कार्तिक २०७५, सोमबार


इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन् ।

उनले पार्टी एकताका लागि नेकपाले निर्माण गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिए ।

इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गरेका छन्। उनले अहिलेको राजनीतिक संरचनामा अर्को सर्वपक्षीय सरकार हुन नसक्ने बताए।

“अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ । त्यसैले राष्ट्रिय सरकार बन्न सक्दैन” खनालले भने, ‘अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको नभए पनि अहिलै यसको आलोचना तथा समालोचना गर्ने बेला भएको छैन ।’

पार्टीमा समस्या देखिएको भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले अबको केही दिनमै स्थायी समितिको बैठक बस्ने र त्यसबाट महत्वपूर्ण निर्णय गर्दै पार्टीका समस्या किनारा लगाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस