विकसित नेपालको सपना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विकसित नेपालको सपना


प्रशासन विशेष ब्युरो

२९ आश्विन २०७५, सोमबार


भ्रष्टाचार

हुनत म विकास मामिलाको विज्ञ होइन । तर पनि विकास भनेको सकारात्मक परिवर्तन हो भन्ने बुझेको छु । एउटा सचेत नागरिकको हैसियतले यो विषयमा लेख्ने जमर्को गर्दैछु । जति बुझे त्यो प्रस्तुत गर्ने अनुमति चाहन्छु । नेपालका सन्दर्भमा विकासको बहस पेचिलो ढंगले उठेको छ । यहाँ विकासलाई विशुद्ध प्राविधिक वा यान्त्रिकरूपमा हेर्ने गरिन्छ । अझ देश संघीयताको कार्यान्वयनको चरणमा धेरै अगाडि बढिसकेकोले यो बहसले स्थान पाउनु स्वभाविकरूपमा हेरिएको छ । विज्ञहरूको नेतृत्वमा विस्तृत योजनालाई आधार बनाएर अनि निश्चित अवधि तोकेर लागू गरिने परियोजनाले विकास सुनिश्चित हुनसक्छ भन्ने विश्वास कतिपयमा छ । कतिले तानाशाही र एकतन्त्री शासनले यस्तो अवसर दिन्छ भन्ने विश्वास पनि गरेका छन् (सिंगापुरका भूतपूर्व प्रधानमन्त्री लि क्वानको मृत्युका प्रसंगमा नेपालमा पनि धेरैले यो धारणा व्यक्त गरेको पाइयो । तर, पनि विकासप्रति जतिसुकै आम चासो भए तापनि यो अवधारणामाथि संगठित वा नियमित बहस हुनसकेको छैन, तसर्थ त्यसको आवश्यकताको महसुस गरिएको छ । यहाँ नेपालको विकासका लागि आवश्यक ठानिएका मुख्य तीन विषयमा छलफल गरिएको छ, जुन यो स्तम्भकारलाई नेपालको समग्र विकासका लागि महत्वपूर्ण हुन भन्ने लागेको छ ।

सकारात्मक सोच
महान साहित्यकार शेक्सपियरले भनेका छन्, ‘राम्रो र नराम्रो भन्ने यो संसारमा केही पनि छैन । तर, सोचाइले नै यस्तो बनाउँछ ।’ हो, हाम्रो सोचाईमा भएको परिवर्तनले नै देश विकासमा असर पारिरहेको छ । देशलाई विकास चाहिएको छ, जनतालाई शान्ति र समृद्धि चाहिएको छ । विडम्बना ! सकारात्मक सोचकै कमीले आज देश र जनता संकटमा छन् । जबसम्म सकारात्मक सोचको विकास हुँदैन तबसम्म देशले निकास पाउने सम्भावना हुँदैन । राजनीतिक दलहरू प्रायः असफल भइरहेका छन्, गैरजिम्मेवार तरिकाले देश चलाउने सहमति भइरहेको छ, यो पनि नकारात्मक सोचाइको प्रतिफल हो । एकले अर्काको अस्तित्व स्वीकारेको भए र सकारात्मक सोचका साथ सबै अगाडि बढेको भए देशमा आज यति ठूलो संकट आउने थिएन । राजनीतिक दल मात्रै होइन, निजामती कर्मचारी, प्रहरी÷प्रशासन, व्यापारी, ठेकेदारहरू संक्रमणकालको फाइदा उठाउँदै आफ्नो दुनो सोझ्याउने दाउमा छन् । लेखनाथ पौड्यालले उनको कवितामा ‘म खाऊँ, मै लाऊँ सुख सयल वा मोज म गरू, म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरू’ भनेझैं सबै सबलहरू आफ्नो निहित स्वार्थमा महत्व दिन थाल्दा देश विकास हुन नसकेको हो । त्यसैले राष्ट्र र राष्ट्रियताप्रति अगाथ आस्था भएका जनता तथा जनता र देशको चिन्ता गर्ने सरकार भएमा नेपालको विकासोन्मुख देशमा स्तरोन्नति हुने सपना पूरा गर्न सन् २०२५ कुर्नपर्छ जस्तो लाग्दैन ।

नेपालको ऐतिहासिक परिवर्तनमा जनताले सधैं साथ दिँदै आएका छन् । विगतमा दल र नेता परिवर्तनका लागि सहकार्य गर्दै आएका तर पछि स-साना स्वार्थमा अल्झिनाले राजनीतिक स्थायित्व र विकासमा नकारात्मक प्रभाव परेको छ । विकास, स्थायित्व र सहकार्य नभई अब नेपालमा लोकतन्त्र स्थिर नहुने मात्र होइन, देशमाथि नै झन् ठूलो संकट आउने सम्भावना बढ्दै गइरहेको छ । त्यसैले सरकार र जनतामा सकारात्मक सोचको विकास हुन जरुरी छ । अब सबैले आफ्नो जिम्मेवारी र दायित्व बोध गर्दै निहित व्यक्तिगत स्वार्थबाट माथि उठ्यो र आफ्नो जिम्मेवारी सही तरिकाले निर्वाह ग¥यो भने अवश्य पनि विकसित नेपाल सम्भव छ ।

भ्रष्टाचारमुक्त समाज
जब कुनै देश गरिबी र भ्रष्टाचारको कुचक्रमा फस्छ, त्यो देशको विकास त्यति सहजरूपमा हुन सक्दैन । भ्रष्टाचार गर्नु भनेको गरिबी भएर होइन, त्यसको खराब प्रवृत्ति, मानिसकता र खराब संस्कार प्रमुख जड हो । भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक (क्रप्सन पर्सेप्सन इन्डेक्स)ले नेपालमा भ्रष्टाचार बढेको तथ्य बाहिर ल्याएको छ । सूचकांकले नेपाल जटिल अवस्थाबाट गुज्रिएको देखाउनुका साथै थुप्रै प्रश्न पनि खडा गरेको छ । नेपालले गत वर्षको तुलनामा दुई अंक बढी पाए पनि भ्रष्टाचार नियन्त्रण र सुशासनका दृष्टिमा अवस्था यथावत् पाइएको छ । यहाँको सार्वजनिक सेवा र कर प्रशासनमा सुधार देखिएको छ । अघिल्लो वर्ष नेपाल २९ अंकसहित १ सय ३१ औं स्थानमा थियो । १ सय ७६ मुलुकको सर्वेक्षण हुँदा १ सय ३१ औं स्थानमा रहेको नेपाल यसपटक १ सय ८० मुलुकमा सर्वेक्षण हुँदा १ सय २२ औं स्थानमा पुगेको हो । नेपालको सन्दर्भमा पदको दुरुपयोग गर्ने सार्वजनिक पदाधिकारीमाथि कारबाही कम भएको, नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका पदाधिकारीबाट लाभका लागि पदको दुरुपयोग हुने गरेकोतर्फ सूचकांकले संकेत गरेको छ । सारमा राजनीतिक नेतृत्वलाई नै भ्रष्टाचारमा प्रमुख जिम्मेवार ठहर गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाल अझै पनि भ्रष्टाचारको दलदलमा फसेको छ र त्यसबाट उन्मुक्ति पाउन धेरै गर्न बाँकी नै छ ।

भ्रष्टाचारले विकासका हरेक पक्षहरूमा नकारात्मक प्रभाव पार्छ । नेपालको सन्दर्भमा गरिबी, विपन्नता, असमानताको प्रमुख कारण स्रोत साधनको अभावभन्दा पनि त्यसको मितव्ययी र प्रभावकारी परिचालन हुन नसक्नु हो । यस अर्थमा हाम्रो गरिबीको सघनता बढ्दै जानुमा पनि भ्रष्टाचारको व्यापकता प्रमुख कारण हो । पछिल्ला वर्षहरूमा भ्रष्टाचारको आयाम, प्रकृति र स्वरूपमा पनि परिवर्तन आएसँगै यसको प्रवृत्ति, सघनता र जटिलतामा पनि दिनानुदिन फरकपन आएको छ । आज कुनै व्यक्तिको प्रवृत्तिगत समस्याको रूपमा मात्र सीमित नरही क्रमशः संस्थागतरूपमा फैलदै गएको पाइएको छ । भ्रष्टाचार संगठितरूपमा हुन थालेको हो, जसको परिणाम देशको आर्थिक अवस्थामा विकराल परिस्थिति सिर्जना भएको छ ।

तसर्थ, नेपाल जस्ता अल्पविकसित देशहरूमा भ्रष्टाचार नियन्त्रणका लागि इच्छाशक्ति भएको सरकार, सक्षम कर्मचारी, बलियो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सशक्त सञ्चार गृह र सचेत नागरिकहरूको खाँचो छ । राष्ट्रसेवक कर्मचारीहरूमा सकारात्मक सोचको विकास जरुरी देखिएको छ, जनताहरूमा सचेतनाको जरुरत देखिएको छ ।

स्रोत-साधनको सही सदुपयोग
हामी देश विकासको कुरा सुरु हुनेबित्तिकै स्रोत–साधनको अभावलाई यसको प्रमुख कारणको रूपमा प्रस्तुत गरिहाल्छौं । तर, विकास स्रोत–साधनको अभावमा भन्दा पनि तिनीहरूको सही सदुपयोग नभएर हुन नसकेको हो । हामीसँग स्रोत-साधनको व्याख्या गरेजति अभाव छैन, जैविक तथा प्राकृतिक विविधता एवं धार्मिक तथा सांस्कृतिक पहिचानका कारण पनि नेपाल संसारमै अत्यन्त प्रसिद्ध छ । तर, नेपालमा प्राकृतिक स्रोत–साधनको समुचित संरक्षण र विकास गर्नुको सट्टा विकासका नाममा विनाशमात्रै हुनपुग्यो । जल, जमिन र जंगलको सदुपयोग हुनुको सट्टा चरम दुरुपयोग हुँदै गएको छ । विकसित मुलुकहरूमा प्रकृति संरक्षणलाई उच्च प्राथमिकतामा राखिन्छ भने नेपालमा त्यसको चरम दुरुपयोग गरिँदा देश विकासोन्मुख हुनुको सट्टा विनाशोन्मुख हुँदै गएको छ ।

उदाहरणको रूपमा हामी जलसम्पदालाई लिन सक्छौं । ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको मुलुकमा अहिले करिब ८५० मेगावाट मात्रै उत्पादन भएको छ । लगानी गर्ने क्षेत्रको पहिचान गर्न सके र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सके निजी क्षेत्र लगानी गर्न तत्पर छ । लगानीको उचित वातावरण तयार गरी जलविद्युतमा लगानी आकर्षित गर्ने हो भने उत्पादित विद्युतको बजार सहजै उपलब्ध हुन सक्छ । छिमेकी मुलुक भारत र चीन विद्युत् निर्यातका सम्भावित मुलुक हुन सक्छन् । अल्पकालीन र दीर्घकालीन योजनाका साथ विद्युत् उत्पादन गर्ने हो भने मुलुकको काँचुली फेरिन समय लाग्दैन । नेपालमा राजनीतिक अस्थिरता र इमानदारीको अभावले दीर्घकालीन योजना बने पनि कार्यान्वयन हुन सकेनन् । यसले गर्दा जलविद्युत् आयोजना निर्माण हुन सकेनन् ।

दक्ष जनशक्तिका साथै कामको खोजीमा विदेसिने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ । हामीसँग स्रोत–साधन नभएको होइन, भएकालाई सदुपयोग गर्न नजान्दा गरिबी र बेरोजगारी दिन–प्रतिदिन बढिरहेको हो । कृषिमा आधुनिकीकरण गरी बाँझो जमिन, अविरल बगिरहेको कञ्चन पानी, प्रयोगविहिन भएर जंगलमै विलिन भएका जडीबुटीहरू अनि कामको खोजीमा भौतारिएको जनशक्तिको सही सदुपयोग गर्न सके हामी सफलताको बाटोमा अगाडि बढ्ने कुरामा शंका छैन ।

अन्त्यमा, सकारात्मक सोच भएको दक्ष जनशक्ति निर्माण गरी देशमा उपलब्ध स्रोत–साधनको समुचित सदुपयोग गर्दै भ्रष्टाचार मुक्त देश बनाउन सरकार, सरोकारवाला साथै सचेत नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ, देशलाई भ्रष्टाचारको दलदलबाट मुक्त गरी सदाचारयुक्त समाज निर्माण गर्न र समग्र राष्ट्रको आर्थिक विकास गर्न सकारात्मक सोच भएको र स्रोत साधनको अधिकतम र उचित सदुपयोग गर्न सक्ने जनशक्ति निर्माण गर्न जरुरी छ । यसका लागि जनचेतनामा अभिवृद्धि, नैतिक शिक्षामा जोड, दक्ष र सक्षम जनशक्ति उत्पादन, सबल सरकार र समग्र सरोकारवाला निकायको सहकार्यको अपरिहार्यता बोध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस