साझा यातायातको टिकट अनलाइनबाट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

साझा यातायातको टिकट अनलाइनबाट


२८ आश्विन २०७५, आइतबार


काठमाडौं । साझा यातायातको टिकट अब अनलाइनबाटै काट्न सकिने व्यवस्था भएको छ । साझा यातायात र बस सेवा डटकमबीच अनलाइनबाटै टिकट लिन सम्झौता भएको छ । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको हो।

अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।

अबदेखि यात्रुहरुले साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्ने जनाएको छ । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् ।

यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्ने जनाएको छ।

साझा यातायातले दियालो टेक्नोलोजिले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो ।

हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको साझा यातायातले जनाएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ गर्ने माध्यम हो । दियालो टेक्नोलोजिजले प्रर्वद्धन गरेको बससेवा डटकमले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस