सामुदायिक विद्यालयमा विद्यार्थीको चाप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप


२३ आश्विन २०७५, मंगलबार


School

तुलसीपुर । तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।

जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ । कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो । अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ ।

पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ । “घरदैलो गरेर विद्यार्थी खोज्नुपर्ने अवस्था हटेको छ,” विद्यालयका शिक्षक प्रमोद न्यौपानेले भने। वि.सं. २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन् ।

एक दशकअघि कक्षा १ मा २० देखि २५ विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म एक हजार ५१८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ । त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन् । अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए । वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नं ४, ३, ७ र तुलसीपुर ५ र ६ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउँछन् । आव २०७४÷७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट १० लाख पुरस्कारसमेत पाएको छ । त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई एक करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ । विद्यालयसँग चार पक्की भवन छन् भने कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधासमेत उपलब्ध छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस