थपियो यतीको एटिआर विमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थपियो यतीको एटिआर विमान


३ आश्विन २०७५, बुधबार


काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ ।

मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् ।

उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए । यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ ।

यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डरनियर डिओ–२२८, दुई वटा ट्विन अटर डिएचसी–३०० र दुई वटा ट्विन अटर भिकिङ ४०० सिरिज छन् । जम्मा छ वटा एटिआर विमान भित्र्याउने योजनामा रहेको यतीले थप विमान ल्याउने प्रक्रियामा रहेको कम्पनीका प्रवक्ता राईले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकामा त्यसलाई साकार तुल्याउन साझेदारीका रुपमा सेवा पुर्याउने उद्देश्यले विमान सेवालाई प्रयोग गरिने कम्पनीले जनाएको छ । “नेपाल भ्रमण वर्षलाई लक्षित गरी विमानको सेवालाई अघि बढाइने छ, साथै नजिकिएको नेपालीको महान् चाड दशैँमा यात्रुको सहजतालाई समेत ध्यानमा राखेर सेवालाई प्रभावकारी बनाइनेछ,” उनले भने ।

नयाँ एटिआरले आवश्यक प्रक्रिया पूरा गरी अबको १५ दिनभित्र उडान शुरु गर्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस