महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री


१ आश्विन २०७५, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।

आज राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताए ।

उनले भने, ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।’
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘घटना लगत्तै स्थानिय प्रहरीलाई सो घटनाको गम्भिर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सिआईबीको टोली पनि पठाईएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरीयो । अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरीएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

जनताको जिउ धनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानअधिकार आयोगको पनि सोही दायित्व रहेकोले दुबै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राखे ।

छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे । जनताको जिउ धनको सुरक्षामा गृह मन्त्रालय गम्भिर बन्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस