सात स्थानीय तहको पहिलो किस्ताको रकम रोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सात स्थानीय तहको पहिलो किस्ताको रकम रोकियो


२७ भाद्र २०७५, बुधबार


रकम

दोलखा । आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ ।

दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।

जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ताबापतको रकम निकासा लगेको छ । भीमेश्वर नगरपालिकाले पहिलो किस्ताबापत रु १० करोड १७ लाख ७५ हजार रकम पाएको छ, भने जिरी नगरपालिकाले रु पाँच करोड ८८ लाख ५० हजार रकम निकासा लगेको छ ।

आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिए पनि गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्ताबापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए ।

गाउँपालिकातर्फ चालु आर्थिक वर्षका लागि सबै भन्दा बढी रु २९ करोड ८३ लाख ३० हजार बजेट पाएको कालिञ्चोक गाउँपालिकाले पहिलो किस्ताबापत रु सात करोड ३९ लाख ५० हजार पाउनेछ । त्यसमध्ये चार करोड १० लाख सर्शत अनुदान हो भने रु तीन करोड २९ लाख ५० हजार वित्तीय समानीकरण बापतको रकम हो । गौरीशङ्कर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कूल रु २२ करोड ४० लाख ३८ हजार बजेट पाएकोमा पहिलो किस्ताबापत रु पाँच करोड ५३ लाख ५० हजार पाउनेछ । त्यसमध्ये रु दुई करोड ६३ लाख ५० हजार वित्तीय समानीकरण र रु दुई करोड ९० लाख सशर्त अनुदान हो ।

तामाकोशी गाउँपालिकाले पहिलो किस्तामा रु दुई करोड ८८ लाख ५० हजार वित्तीय समानीकरण र रु तीन करोड ८० लाख सशर्त अनुदान गरी कूल रु ६ करोड ६८ लाख ५० हजार पाउनेछ । तामाकोशी गाउँपालिकालाई चालु वर्ष केन्द्र सरकारले रु २६ करोड ९० लाख ४० हजार बजेट विनियोजन गरेको छ ।

यसैगरी कुल रु २४ करोड ७८ लाख ३७ हजार बजेट पाएको वैतेश्वर गाउँपालिकाले पहिलो किस्तामा रु ६ करोड १५ लाख बजेट पाउनेछ । त्यसमा रु ३ करोड २० लाख सशर्त अनुदान र रु २ करोड ९५ लाख वित्तिय समानिकरण अनुदान हुनेछ । मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष रु २७ करोड ४२ लाख ३७ हजार कुल बजेट पाउनेमा पहिलो किस्तामा रु २ करोड ९९ लाख वित्तीय समानीकरण र रु ३ करोड ८० लाख सशर्त अनुदान गरि कुल रु ६ करोड ७९ लाख बजेट पाउनेछ ।

चालु आर्थिक वर्ष कूल रु २३ करोड ७२ लाख ४२ हजार बजेट पाएको विगु गाउँपालिकाको लागि पहिलो किस्तामा रु ५ करोड ९२ लाख बजेट निकासा हुनेछ । त्यसमध्ये रु २ करोड ८२ लाख वित्तीय समानीकरण र रु ३ करोड १० लाख सशर्त अनुदान हो ।

यस्तै, शैलुङ गाउँपालिकाले पहिलो किस्तामा रु २ करोड ८२ लाख ७५ हजार वित्तीय समानीकरण र रु २ करोड ९० लाख सशर्त अनुदान गरी कूल रु पाँच करोड ७२ लाख ७५ हजार पाउनेछ ।

शैलुङ गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि भने कूल रु २२ करोड ९३ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । तर हालसम्म कुनै पनि गाउँपालिकाले पहिलो किस्ता बापतको रकम निकासा भने लगेका छैनन् । गाउँपालिका गत आर्थिक वर्षको हिसाब बुझाउने प्रक्रियामा रहेकाले चाँडै निकासा लैजाने प्रमुख कोष नियन्त्रण न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस