निर्मला हत्या प्रकरण : कञ्चनपुरमा बढ्दै स्थानीयको आक्रोश, आज पनि प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा बढ्दै स्थानीयको आक्रोश, आज पनि प्रदर्शन


७ भाद्र २०७५, बिहिबार


महेन्द्रनगर । बलत्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा कञ्चनपुरका स्थानीय आक्रोशित भएका छन् । स्थानीयले आज पनि प्रदर्शन गरेपछि कञ्चनपुरमा तनाव सिर्जना भएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ ।

स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको भन्दै स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । स्थानीयले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालेर सडक ठप्प पारेका छन् ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

प्रदर्शन नरोकिएपछि प्रदेश ७ प्रहरीले अनुगमनका लागि एसएसपी बिक्रम चन्दलार्इ महेन्द्रनगर पठाएको छ ।

बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो ।

प्रतिक्रिया दिनुहोस