३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना, विद्युतबाट बञ्चित ७५ घरमा जडान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना, विद्युतबाट बञ्चित ७५ घरमा जडान


७ भाद्र २०७५, बिहिबार


मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका १ – मा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजनाको शुभारम्भ गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सौर्य मिनी ग्रीड परियोजनाको बुधबार शुभारम्भ गरेका हुन् । मोरङको विकट गाउँपालिका मिक्लाजुङमा केन्द्रीय प्रसारण लाइन पुग्न सकेको थिएन । विद्युतबाट बञ्चित सो क्षेत्रका ७५ घरमा सौर्य मिनी ग्रीड जडान गरी ऊर्जाको आवश्यकता पूर्ति गरिएको छ ।

एसियाली विकास बैंकको एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १६ लाख र जिल्ला समन्वय समितिको छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सौर्य मिनीग्रीड जडान गरिएको छ ।

उक्त परियोजना सूर्योदय उर्जा प्रालिले निर्माण गरेको हो । यस परियोजनामा पहिलो पटक स्मार्ट मिटर जडान गरी समुदाय आफैले व्यवस्थापन गरेको छ ।

यस्तै मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट गाउँहरुमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

उनले सरकार गठनपछि चीन र बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं. १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस