निजामती संगठनका उपाध्यक्षको दादागिरी, सिंहदरवारमै कर्मचारीमाथि दुर्व्यवहार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजामती संगठनका उपाध्यक्षको दादागिरी, सिंहदरवारमै कर्मचारीमाथि दुर्व्यवहार


प्रशासन विशेष ब्युरो

२८ श्रावण २०७५, सोमबार


कर्मचारी-तोडफोड

काठमाडौं । आइतबार दिउँसोको करिब ३ बजे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कोलाहल मच्चियो । कर्मचारीहरू भागाभाग गर्न थाले । एकै छिनमा प्रहरी पनि आइपुगे । यसको कारण थियो – मन्त्रालयका एक कर्मचारीमाथि तत्कालीन नेकपा एमाले निकट कर्मचारी संगठनका उपाध्यक्षद्वारा दुर्व्यवहार ।

आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले कर्मचारी प्रशासन महाशाखाका उपसचिव ऋषि आचार्यमाथि झम्टिए ।

‘उनी (भण्डारी) नयाँ पोस्टिङ गरेको एक शाखा अधिकृतको सरुवा सच्याउन दबाब दिइरहेका थिए, उनले भनेको ठाउँमा सरुवा नभएपछि मन्त्रालयमै आएर आक्रमणमा उत्रिएका हुन्,’ स्रोतले भन्यो, ‘शाखा अधिकृत नेत्रराज गिरीलाई उनले नै रोजेको ठाउँ डोल्पामा पठाइएको थियो । तर, उनले पछि नजाने भनेर चिठी बुझ्न मानेका थिएनन् ।’ स्रोतका अनुसार ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारभित्रै कर्मचारी असुरक्षित रहेको देखाएको छ ।

घटनापछि कर्मचारी प्रशासन शाखाका कर्मचारीले सचिवकहाँ गएर काम गर्न नसक्ने बताएका थिए । त्यसपछि सचिवले मन्त्री लालबाबु पण्डितलाई घटनाबारे जानकारी गराएका थिए । लगत्तै मन्त्रीले आरोपीलाई नियन्त्रणमा लिन आदेश दिएका थिए । तर, त्यतिबेलासम्म आरोपी ‘फरार’ भइसकेका थिए ।

शिक्षा विभागका अधिकृत रहेका भण्डारीको दुर्व्यवहारको घटना यो पहिलो भने होइन, यसअघि पनि उनले जिल्लादेखि केन्द्रसम्मका विभिन्न कार्यक्रमहरूमा आक्रामक रूपमा प्रस्तुत हुँदै आएको स्रोत बताउँछ । उनले नेपालगन्जमा भएको संगठनको १० औं राष्ट्रिय अधिवेशन कार्यक्रममा तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्टेजमै कुर्सी प्रहरी गर्न तम्सिएका थिए ।

नेपाल निजामती कर्मचारी संगठनको स्रोत भने ट्रेड युनियनलाई खारेजी गर्न बल पुग्ने हिसाबले घटना घटाइएको दाबी गर्छन् । संगठनका पूर्वअध्यक्षको डिजाइनमा घटना घटेको स्रोतको आरोप छ ।

उपसचिव आचार्यले घटना लुकाउन खोजे
घटनाका पीडित उपसचिव आचार्यले भने घटना लुकाउन खोजेका छन् । उनले डिस्कर्स मात्रै भएको बताए ।

‘भण्डारीले सरुवाको विषयमा भन्नुभएको थियो, मैले सबै भनेजस्तो अनुकूल हुन सक्दैन भन्ने जवाफ दिएँ । त्यसपछि डिस्कस भएको होे,’ उनले भने ।

राजनीतिक कनेक्सनकै कारण नेता कर्मचारी जोगिने र पीडितले नै अप्ठेरोको सामना गर्नुपर्ने भएकाले उनले घटनाबारे बोल्न नचाहेको एक कर्मचारीले बताए ।

‘त्यही त हो हजुर, नेता मान्छे राजनीतिक पावर लगाइहाल्छन्, विचरा निमुखा कर्मचारी भने हेरेको हेरेई गर्ने हो, कुटेको भए पनि कुटेकोकुटेइ हुन्थ्यो,’ एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘उनी ट्रेड युनियनसँग सम्बन्धित नभई अन्य कर्मचारी भए जागिरै गइसक्थ्यो । तर, नेता भएकै कारण भण्डारीलाई छुन समेत सकिएन ।’ कहिँ कतै कुनै दलनिकट संघसंगठनसँग आवद्ध नहुने कर्मचारीले जति नै ठूलो पीडा भए पनि चुइक्क बोल्न समेत पाउँदैन, केही गरी भनिहाले पनि सुनुवाई कसले गर्ने ?

कर्मचारी समायोजन प्रक्रियालाई टुंग्याउनुपर्ने बेला आफूले भनेको ठाउँमा कर्मचारी पठाएन भनेर ताण्डव मच्चाउनु ट्रेड युनियनको दादागिरि झल्काएको ती कर्मचारीको आरोप छ ।

कर्मचारीको सरुवाका लागि नेता, सांसद र मन्त्रीहरू आएर दबाब दिने गरेको ती कर्मचारीले बताए ।

कारवाही हुन्छ – अध्यक्ष देवकोटा, नेपाल निजामती कर्मचारी संगठन
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले घटनाबारे छानबिन गर्ने बताएका छन् । ‘कसैलाई गाली गर्ने, हकार्ने, धम्क्याउने तथा ट्रेड युनियनलाई दाग लाग्ने काम गर्ने संगठनको नीति होइन,’ उनले भने, ‘साथीभाइहरूका समस्या छन् भने बसेर समाधान गर्ने हो । एक तहबाट भएन भने अर्काेबाट गर्न सकिन्छ ।’ संगठनको हितविपरित काम गर्नेलाई कारवाही हुने उनले बताए ।

‘प्रशासनिक हिसावले गर्ने काम प्रशासनले गर्छ । सांगठनिक हिसावले गर्ने कारवाहीका लागि हामी छानविन गर्छौ,’ उनले भने ।

संगठनको त्यस्तो कुनै नीति र व्यवहार नभएको बताउँदै उनले घटनाबारे संस्था जिम्मेवार नहुने उनले बताए । भण्डारीको व्यवहारले सिंगो ट्रेड युनियनलाई धक्का पुगेको उनको भनाइ छ ।

सरकार मुकदर्शक बन्छ कि कारवाही गर्छ ?
कर्मचारीको सरुवा, बढुवा, काजदेखि पुरस्कारसम्म ट्रेड युनियनका नेताहरुको हस्तक्षेप गर्दै आएको भन्ने आरोप नौलो होइन । जुन पार्टी सरकारमा आउँछ, सोही निकट कर्मचारी संगठनहरूको मनपरी चल्ने गरेको पनि लुकाएर लुक्न सक्दैन । ट्रेड युनियनका नाममा राजनीति हावी हुँदा समग्र कर्मचारीतन्त्रमाथि प्रश्न उठिरहेको पनि जगजाहेर नै छ ।

सार्वजनिक पद धारण गरेको व्यक्ति, जो कानुनले बाँधिएको छ त्यसैबाट सिंहदरवारभित्रै अराजकता, गुण्डागर्दी गरिरहँदा सरकार मुक दर्शक बन्छ कि कारवाही थाल्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस