जो मनको आँखाले जगत्लाई हेर्छन्… « प्रशासन

जो मनको आँखाले जगत्लाई हेर्छन्…


प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १२:४७

नेपालगञ्ज । न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत् हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् ।

नेपालगञ्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगतलाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् ।

ब्रेललिपी छामेर, सुनेर आफ्नो अध्यापनलाई अघि बढाइरहेका विष्णु जस्तै ४० जनाभन्दा बढी न्यून दृष्टियुक्त बालबालिका र किशोरकिशोरी नेपालगञ्जस्थित मंगलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक हुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रकाशवान हुन्छ, अनि प्रभावकारी पनि हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो र मनग्ने माया गरियो भने बाहिरी आँखाले देख्ने सरह उनीहरु पनि सवल र सक्षम हुन सक्छन् ।

यसको उदाहरण हुन न्यून दृष्टियुक्त भोला त्रिपाठी । त्यही मंगल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त भएका व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गरेका भोला मंगल माविमा शिक्षकको भूमिकामा छन् ।

मंगल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त भएका विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले पनि लिएको छ ।

न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि सघर्ष गर्दै आएको बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना भन्छन्, ‘संघले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त भएका व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ ।’

मंगलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो संघीय शिक्षा इकाइ कार्यालय, बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्फबाट निःशुल्क शिक्षादिक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आफ्नो जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मंगल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । ‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो’ शिक्षक त्रिपाठीको भनाइ छ ।

‘बाहिरी आँखाले नदेखेपनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका न्यून दृष्टियुक्त शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए ‘न्यून दृष्टियुक्त व्यक्तिले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’ अर्का न्यून दृष्टियुक्त शिक्षक भावुकजंग थापाको ठम्याइ छ ।

एक अर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाई राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रता यी सबै कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको छ भन्दा अतिशयुक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस