दमक । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेलिरहेका छन् ।
मावा खानेपानी आयोजनाको पाइप खोलाले बगाएपछि यस क्षेत्रका वासिन्दा खानेपानी समस्याबाट वञ्चित भएका हुन् । सो आयोजना दुम्से खानेपानी योजनाअन्तर्गत सञ्चालित छ ।
भुटानी शरणार्थीलाई खानेपानी सुविधा दिन योजना सञ्चालन गरिएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताउँछन् । त्यसअन्तर्गत हाल पाँच सय धारा जडान भइसकेका छन् ।
खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने गरेको स्थानीय बताउँछन् ।
गत असारको वर्षा र बाढीले दुम्सेका तीनमध्ये दुई वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्यांकीमा जम्मा हुने पानी हाल चार लिटरमा झरेको छ । ट्यांकीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।
हालसम्म एक करोडभन्दा धेरै रकम खर्च भइसक्दासमेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन । भूटानी शरणार्थी दातृ निकाय युएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेसनले ४२ लाख, उपभोक्ताले १० लाख, दमक नगरपालिकाको २० लाखसहित पटक–पटक मुहान मर्मत खर्च र पाइप विस्तार गरी एक करोड रूपैयाँभन्दा धेरै खानेपानीमा खर्च भइसकेको छ । तर, पनि पर्याप्त र शुद्ध पानी पिउन नपाएको स्थानीय मानबहादुर लिम्बूको गुनासो छ ।
दमक–३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफ्नो दैनिक गर्जो टार्ने गरेको बताउँछिन् । राईको घर नजिकै पानीको धारा छ । तर, पानी आउँदैन । जसका कारण अनेकौँ जोखिम मोलेरै भए पनि खोलाको धमिलो पानी उपभोग गर्न बाध्य छन् ।







