वैदेशिक रोजगारीको नाममा ठगी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक रोजगारीको नाममा ठगी


२८ असार २०७५, बिहिबार


उदयपुर । युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् ।

रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ ।

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब दिने सर्तमा रु एक लाख ७० हजार लिएर साउदी अरब पठायो । भनेजस्तो काम र तलब नपाएपछि उनी स्वदेश फर्किए ।

यस्तै, चौदण्डी नगरपालिका– ३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उनले एक हजार ५०० रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाए।

“साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ,” उनले भने ।

गाईघाटस्थित विभिन्न मेनपावरले सर्वसाधारणलाई ठगेर विदेश पठाउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास योजनाका संयोजक सोनम राई सात महिनामा स्थानीय मेनपावरविरुद्ध ३१ वटा ठगीका मुद्दा परेको बताउँछन् ।

ठगीमा परेका ३१ मुद्दामध्ये १२ वटामा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर कारबाही गराएर विदेशमा ठगिएकालाई घर फर्काइ न्याय दिलाएको संयोजक राईले बताए । गाईघाटमा मेनपावर स्थानीयले नै अवैधरुपमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस