पहिरो पन्छाउन दिनभर लाग्ने, थप पहिरो नखसे ४ बजेसम्म दुईतर्फी सञ्चालन हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरो पन्छाउन दिनभर लाग्ने, थप पहिरो नखसे ४ बजेसम्म दुईतर्फी सञ्चालन हुने


२० असार २०७५, बुधबार


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ ।

सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो ।

बिसुरालका अनुसार दुवै ठाउँमा दुई दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए ।

मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पूरै सडक ढाकेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस