प्रधानमन्त्री कार्यालयले थाल्यो ट्र्याकिङ ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री कार्यालयले थाल्यो ट्र्याकिङ !


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयहरुमा पठाइएका हरेक पत्रहरुको ट्र्याकिङ गर्न शुरु गरेको छ ।

महिना भरीमा कुन कुन मन्त्रालयमा कति पत्रहरु पठाइए र त्यसको कार्यान्वयनको अवस्था के कति भयो भन्ने व्यहोराको पत्रसहित प्रत्येक मन्त्रालयमा चिठी पठाइएको प्रधानमन्त्रीको निजी सचिवालयका शाखा अधिकृत विवेक घिमिरेले बताए ।

यसरी पत्र पठाउँदा तिथि मिति, निवेदकको नाम, पत्रको विषय सहित सक्कलै पत्रहरु नै संलग्न गरेर पठाउने भएकोले पत्र आईपुगेन, भेटिएन भनेर पन्छिन नसक्ने उनको भनाई छ ।

यसरी ट्र्याकिङ गर्न शुरु गरेपछि मन्त्रालयहरुले छिटो जवाफ दिन थालेका छन् । कुन पत्रको के कारवाही भयो भनेर निरन्तर फलोअप गर्न थालेपछि अहिले हरेक पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आउने गरेको उनले बताए ।

प्रधानमन्त्री कार्यालयबाटै पठाइएका पत्रहरुको बारेमा के भयो भन्ने बारे प्रधानमन्त्री कार्यालयलाई जानकारी नहुने र कतिपय अवस्थामा आलटाल गर्ने गरेको पाइएकोले हरेक कार्यालयलाई जिम्मेवार बनाउन एक जना फोकल पर्सन तोक्न समेत निर्देशन दिई सकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए ।

निश्चित कर्मचारीलाई नै तोकेर जिम्मेवार बनाउँदा कसैले पनि पन्छिन र आलटाल गर्न नसक्ने भएकोले फोकल पर्सन तोक्न भनिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस