आझेलका पात्र कृष्णको ‘झल्को’ यसरी आयो बजारमा (भिडियो सहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आझेलका पात्र कृष्णको ‘झल्को’ यसरी आयो बजारमा (भिडियो सहित)


१० असार २०७५, आइतबार


काठमाडौं । गायक कृष्ण बिकले झल्को एल्बम बजारमा ल्याएका छन् । केही दिनअघि राजधानीमा विमोचित उक्त एल्बममा ५ वटा गीत समावेश छन् ।

बझाङको दुर्गम गाउँ दंगाजी सिमतोलामा जन्मिएका कृष्णको आर्थिक अवस्था निकै कम्जोर छ । सानैदेखि गीत संगितमा रुची भएका कृष्णको स्वर सुमधुर भएपनि दुर्गम त्यसैमा पनि गरिव परिवारमा जन्मिएको प्रतिभालाई कसले चिन्ने ?

तर संयोग नै मान्नु पर्छ ०७० सालको चुनावी माहोल थियो । बझाङको बीचगडामा नेपाली कांग्रेसको आमसभा हुँदै थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त आमसभा सम्बोधनका लागि त्यहाँ पुगेका थिए ।

सोही मञ्चमा कृष्णले आफैले रचेको एउटा गीत गाए । त्यो गीत, शब्द र स्वरले देउवालाई छोयो । उनले कृष्णलाई नजिकै बोलायर काठमाडौं आउन सुझाए । देउवाले सक्दो सहयोग गर्ने बताए । त्यही आसा बाकेर राजधानी आएका कृष्णको सपना लामो समयपछिको थुप्रै संघर्ष पौठेजोरी खेल्दै लामो समयपछि पुरा भएको छ ।

कृष्णको एल्बम विमोचन गर्न देउवा स्वयम् आउने भनिएपनि सोही दिन अन्यत्र कार्यक्रम जुधेकाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उनको एल्बम बिमोचन गरेका थिए ।

एल्बम विमोचनको सम्पूर्ण चाँजोपाँजो कांग्रेस नेता एनपी साउँदकी धर्मपत्नी ज्योत्सना साउँदले मिलाइदिएकी हुन् । दुर्गम गाउँको एउटा प्रतिभालाई थोरै भए पनि सहयोग गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको समाजसेवी साउँदले बताइन् ।

अहिले उनको गीतले चर्चा पाइरहेको छ । गीतले चर्चा पाएसँगै उनी खुशी छन् । कृष्णले आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा नै आफुलाई समर्पित गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस