राष्ट्रिय झण्डा फरक पारेको भन्दै प्रमुख सचिवसहित चार कर्मचारीलाई स्पष्टिकरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय झण्डा फरक पारेको भन्दै प्रमुख सचिवसहित चार कर्मचारीलाई स्पष्टिकरण


प्रशासन विशेष ब्युरो

३१ बैशाख २०७५, सोमबार


काठमाडौँ — राष्ट्रिय झण्डाको आकार र प्रकार फरक राखिएको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का प्रमुख सचिवसहित चारजना कर्मचारीलाई स्पष्टिकरण सोधेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको झण्डा निर्धारित आकार भन्दा किन फरक बनाउन दिइयो भन्दै तीन दिने स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयले प्रदेश २ का प्रमुख सचिवसहित, आन्तरिक मामिला मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, जनकपुर उपमहानगरपालिकाका प्रमुखलाई स्पष्टिकरणको पत्र पठाएको हो ।

मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुपभन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो ? भनेर सोधेको छ।

‘के–कसरी र कसको लापारवाहीले फरक आकार र रुपको राष्ट्रिय झण्डा राखिएको हो ? तीनदिनभित्र लिखित जवाफ दिनुहोला।’ मन्त्रालयले सोधेको स्पष्टिकरण पत्रमा भनिएको छ ।

जानकी मन्दिर परिसरमा राखिएको नेपाली झण्डाको आकार र प्रकार फरक भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि मन्त्रालयले यसबारे चाँसो दिएको हो ।

प्रतिक्रिया दिनुहोस