यार्सा टिप्न तीन महिना विद्यालय बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यार्सा टिप्न तीन महिना विद्यालय बन्द


३१ बैशाख २०७५, सोमबार


बझाङ । यार्साको सिजन सुरु भएसँगै जिल्लाको दर्जनौं विद्यालय तीन महिनाका लागि बन्द गरिएका छन् ।

जिल्लाको सुर्मा, तल्कोट तथा साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।

प्रायः सबै घरबाट बालकदेखि वृद्धसम्म यार्सा संकलन गर्न जाने भएकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको दौलीचौर विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।

‘यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ, किनकी यस क्षेत्रका बासिन्दाले यार्सागुम्बा संकलन गरेर वर्षभरिको खर्चको जोहो गर्छन्,’ उनले भने ।

सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले केही दिनअघि यार्सा संकलन खुला गरेको छ । आसपासका स्थानीय पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।

जिल्ला शिक्षा कार्यालयले भने यसबारे आफूलाई जानकारी नभएको बताउँछ । ‘यसरी तीन महिनासम्म विद्यालय बन्द गराउन पाइँदैन,’ शिक्षा कार्यालयकी विद्यालय निरीक्षक अनिता ठकुन्नाले भनिन्, ‘यसबारे बुझेर जानकारी गराउँछु ।’

यस क्षेत्रमा यार्सा संकलन गर्नका जिल्लाभरका मानिस जाने गर्छन् । पछिल्लो समय भने यार्सागुम्बा कम पाइन थालेको स्थानीय बताउँछन् ।

‘पहिले एक परिवारले एक–तीन केजीसम्म संकलन गथ्र्याे,’ स्थानीय रमेश बोहरा भन्छन्, ‘यार्सा बेचेर कतिले सदरमुकाममा घरघडेरी जोडे । तर, अहिले यार्सा निकै कम पाइन थालेको छ ।’
यस क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा, जडीबुटी र भेडापालन हो ।

पछिल्लो समय यार्सागुम्बा पाइन छाडेपछि स्थानीय मारमा परेको साइपाल गाउँपालिकाका रामबहादुर बोहराले बताए । ‘विगतमा यार्सागुम्बा प्रशस्त पाइने भएकाले कतिपयले अन्य व्यवसाय छाडेर यसमै लागेका थिए, अहिले उनीहरू मारमा परेका छन्,’ उनले भने । पहिलेको तुलनामा यार्साको मूल्य पनि घटेको उनी बताउँछन् ।

यार्सागुम्बा सहि तरिकाले संकलन नगर्नु, वनमा आगलागी हुनुलगायत कारणले यार्सा संकलनमा कमी आएको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस